काठमाडौं – ‘दोहोरो सुरक्षाका लागि कन्डममा पहुँच बढाऔं’ भन्ने नाराका साथ भोलि अठारौं राष्ट्रिय कन्डम दिवस मनाइने भएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र तथा राष्ट्रिय कन्डम दिवस समन्वय समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो।
यस अवसरमा राजधानीलगायत देशभर केन्द्रदेखि गाउँस्तरसम्म विभिन्न सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज तथा सञ्चार माध्यमको सक्रिय सहभागितामा सडकनाटक, निःशुल्क कन्डम वितरण स्टलबाट कन्डम वितरणलगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक कृष्णकुमार राईले जानकारी दिए।
उनले कन्डमको सहज उपलब्धता र पहुँच बढाउने अभियानलाई सशक्त बनाउनका लागि २०५२ सालदेखि राष्ट्रिय कन्डम दिवस मनाउन थालिएको जानकारी दिए। हालसम्म विश्वमा तीन करोडभन्दा बढी मानिसहरू एचआइभी र एड्स भएर बाँचिरहेका र नेपालमा करिब ५० हजार मानिसमा यसको सङ्क्रमण भएको अनुमान गरिएको छ।
नेपालमा करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण कन्डमबिना गरिने यौन सम्पर्कको कारण सरेको पाइएको सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि एचआइभी सङ्क्रमण र जनसङ्ख्या वृद्धि दुवै ठूलो चुनौतीको रूपमा रहेको अवस्थामा जनसङ्ख्या वृद्धिदर कम गर्नका साथै एचआईभी तथा यौनरोग सङ्क्रमणलाई कम गर्न कन्डमको सहज र सुलभ उपलब्धता तथा पहुँच हुनु जरुरी रहेको जनाइएको छ। रासस