निर्वाचन प्रायः मंगलबार नै किन हुन्छ ?
सन् १८४५ मा राष्ट्रपतीय निर्वाचन नोभेम्बरको पहिलो सोमबारको भोलिपल्ट मंगलबार भएको थियो । त्यति बेलादेखि यो परम्परा कायमै छ । उन्नाइसौं शताब्दीमा अमेरिका एक कृषिप्रधान मुलुक भएकोेले कृषकलाई मतदान केन्द्रसम्म पुग्न समय लाग्थ्यो । उनीहरूले शनिबार काम गर्ने हुनाले आइतबारदेखि हिँडेर सोमबारसम्म मतदान केन्द्रमा पुग्नु सम्भव थिएन । उनीहरूले बुधबार बजारमा अन्न बिक्री गरेर घर फिर्ती हुनुपथ्र्यो । सप्ताहान्तमा मतदान गर्ने प्रयास पहिला नै असफल भइसकेको हुनाले मंगलबार मतदान गराउनु बाहेकको विकल्प थिएन । यही आधारमा मंगलबार मतदान हुने परम्परा कायमै छ ।
मात्र एक तिहाइ अमेरिका महत्त्वपूर्ण
६ नोभेम्बरमा हुने निर्वाचनको परिणाम मुख्य रूपले एक तिहाइ जनसंख्याले तय गर्नेछन् । अमेरिकाको चार सबभन्दा बढी जनसंख्या भएको राज्यमा डेमोक्रेट र रिपब्लिकन दुवैको प्रभाव उत्तिकै छ । अनिणिर्त राज्यमा बस्ने ३० प्रतिशत मतदातामाथि निर्वाचन परिणाम भर पर्छ । टेक्सास, जर्जिया, न्युयोर्क र इलिनोईस र अन्य ३५ सुरक्षित राज्यको ७० प्रतिशत मतदाताको झुकाव स्पष्ट छ । यी राज्यमा को र कसको पक्षमा पहिलादेखि स्पष्ट छ । दुवै उम्मेदवारले ती राज्यहरूमा प्रचार समेत गरिरहेका छैनन् ।
उम्मेदवारले कालो चस्मा लगाउनुहुन्न
उम्मेदवारले कालो चस्मा लगाउनाले मतदातामा अविश्वास उत्पन्न गर्छ । अमेरिकामा कालो चस्मा लगाएका सत्ताधारी र मुख्य नेताको तस्बिर भेट्टाउन कठिन हुन्छ । अमेरिकीहरूले आफ्ना नेतासँग आँखा जुधाएर महत्त्वपूर्ण चुनावी मुद्दाबारे छलफल गर्न चाहन्छन् । त्यसैले त्यहाँ विभिन्न चरणमा उम्मेदवारहरूबीच प्रत्यक्ष बहस गराइन्छ । जनताले मुलुकप्रति उनीहरूको अडान बुझ्न खोज्छन् । त्यही भएर ओबामा वा मिट रोम्नी कहिल्यै चस्मा लगाएर नागरिकसमक्ष आएका देखिएनन् । आँखा छोपिएका वा अनुहार लुकाएर अघिल्तिर आउने व्यक्तिमा धेरै भर पर्न नसकिने अमेरिकीहरूले राम्ररी बुझेका छन् ।
बाँचुन्जेलसम्म जागिर
अमेरिकामा पद छाडे पनि पछिसम्म त्यही विशेषण दिएर सम्बोधन गरिन्छ । उदाहरणको रूपमा रोम्नीले ६ वर्षअघि मेसाचुसेट्सको गभर्नर पद छाडिसकेका छन् । तर, उनलाई हरेकले ‘गभर्नर रोम्नी’ भनेर बोलाउँछन् । अमेरिकीहरूले एउटै वाक्यमा राष्ट्रपति ओबामा, राष्ट्रपति बुस र राष्ट्रपति क्लिन्टन भनेर सम्बोधन गरेको सुनिन्छ । ‘यसले हाम्रो समाजमा यी पदको गरिमालाई झल्काउँछ,’ लेखक डेनियल पोस्ट स्यानिङ भन्छन्, ‘यसले हाम्रो लोकतान्त्रिक सोच र ती पदहरू अहं पद भएको दर्साउँछ ।’ उनले यसलाई न्यायाधीश र चिकित्सकले अवकाश पाउँदासँग तुलना गर्छन् । उनी भन्छन्, ‘उनीहरू पनि जागिर छाडे पनि चिकित्सक वा न्यायाधीश भनेर बोलाइन्छन् ।’
पराजित पनि विजयी हुन सक्छन्
अमेरिकी इतिहासमा चार राष्ट्रपतिले कम मत पाउँदा पनि विजयी भएका छन् । निर्वाचनमा उम्मेदवारले ‘इलेक्ट्रोल मत’ मा बहुमत हासिल गर्नुपर्ने हुनाले यस्तो हुन पुग्छ । जनसंख्याका हिसाबले हरेक राज्यको ‘इलेक्ट्रोल मत’ तय हुन्छ । राज्यमा अधिक भोट पाउने उम्मेदवारले उक्त मत पाउँछन् । यही कारणले ५० राज्यको ५ सय ३८ मध्ये २ सय ७० इलेक्ट्रोल मत पाउने राष्ट्रपति बन्न पुग्छन् ।
तर, जनताले नै खुल्ला निर्वाचनद्वारा इलेक्ट्रोल मत तय गर्छन् । सन् २००० को निर्वाचनमा अल गोरले जर्ज बुसभन्दा ५ लाख बढी मत पाएका थिए । तर, उनी इलेक्ट्रोल मत गणनामा पछि रहे । यो निर्वाचनमा पनि यस्तो सम्भावना बढेर गएको छ ।
दुवै उम्मेदवारले बराबरी मत पाएमा के हुन्छ ?
यो निर्वाचनमा दुवै उम्मेदवारले बराबर इलेक्ट्रोल मत पाउने सम्भावना पनि छ । यस्तो स्थिति सिर्जना भएमा के हुन्छ त ? यस्तो भएमा अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति निर्वाचन गर्नेछ । यो सभामा अहिले विपक्षी रिपब्लिकन पार्टीको कब्जा छ ।
यस्तोमा रोम्नीले बाजी मार्न सक्छन् । तर, यसमा पनि एउटा समस्या छ । टाईको स्थितिमा उपराष्ट्रपति पदको निर्णय माथिल्लो सदन सिनेटले गर्छ जसमा सत्ताधारी डेमोक्रेटिक पार्टीको वर्चस्व छ । यो स्थितिमा रोम्नी राष्ट्रपति बने पनि उनले डेमोक्रेटिक उपराष्ट्रपति जो बाइडनलाई सहनुपर्ने हुन्छ ।
ओबामाको बूढीऔंला
यो वर्ष भएको तीनवटै टीभी बहसमा रोम्नी, ओबामा र ओबामाको बूढीऔंलाले चर्चा पाइरहेकै छन् । बहसका क्रममा ओबामाले आफ्नो पक्ष राख्दा थुपै्र पटक बन्द मुठ्ठीले बूढीऔंलालाई माथितर्फ उठाएर संकेत गर्ने गरेको देखिएको छ । हाउभाउका भाषाविद् प्यान्टी वुडले ओबामालाई कसैले यो सिकाएको बताउँछिन् । यो सांकेतिक हतियार भएको उनी बताउँछिन् ।
नागरिकप्रतिको मोह यो निर्वाचनमा अंग्रेजी शब्द ‘फोक्स -जनसाधारण)’ को निकै प्रयोग हुन्छ । रोम्नी र ओबामाले पनि ठाउँठाउँमा यसको प्रयोग गरिरहेका छन् । अमेरिकी राजनीतिक शब्दावलीको अक्सफोर्ड शब्दकोशका सम्पादक ग्रान्ट ब्यारेट भन्छन्, ‘यो शब्दले पुरानो अंग्रेजी शब्दलाई प्रतिनिधित्व गर्छ, यसले पिपुल -जनता)’ लाई नै जनाउँछ । यो शब्दको प्रयोग दक्षिण अमेरिकी राज्यमा बढी हुन्छ । ‘चुनावमा दक्षिण भेकको हालीमुहाली छ, त्यहाँका बासिन्दा बोलक्कड हुन्छन्,’ उनी भन्छन्, ‘राष्ट्रिय स्तरमा पनि दक्षिणबासीकै दबदबा हुन्छ ।’
नेभाडा राज्यमा उम्मेदवार नछान्ने अवसर अमेरिकी राज्य नेभाडाको मतपत्रमा मैदानमा रहेका उम्मेदवारमा कोही मन नपर्नेलाई अर्को विकल्प दिएको हुन्छ । उनीहरूले मतपत्रमा रहेको ‘नन अफ दी क्यान्डिडेट्स -कुनै पनि उम्मेदवारका लागि होइन)’ खण्डमा मत खसाल्न सक्छन् । सन् १९७६ देखि मतपत्रमा यो विकल्प उपलब्ध छ ।
उत्तरी डकोटामा बिनाअभिलेख मतदान अमेरिकाको एक मात्र राज्य उत्तरी डकोटामा मतदाताले दर्ता गराउनु पर्दैन । यो राज्यमा सन् १९५१ देखि अभिलेख राख्न छाडिएको हो । त्यहाँ ३० दिनदे