नेकपा-माओवादीले जनवादी क्रान्ति सफल बनाउन ‘फौजी मोर्चा’ बनाउने

– दीपेन्द्र विष्ट

 

काठमाडौ  – नेकपा-माओवादीले जनवादी क्रान्ति सफल बनाउन ‘फौजी मोर्चा’ बनाउने भएको छ । पार्टी अध्यक्ष मोहन वैद्यद्वारा तयार पारिएको राजनीतिक प्रतिवेदनमा जनवादीलाई क्रान्ति सफल बनाउन र मुलुकको आमूल परिवर्तनका लागि आवश्यक परे फौजी मोर्चासमेत बनाइने उल्लेख छ । प्रतिवेदनमा हालसम्म नेपालमा भएका क्रान्तिको विश्लेषण गर्दै आमूल परिवर्तनका लागि सशक्त हस्तक्षेपकारी भूमिका निभाउन फौजी मोर्चा आवश्यक भएको औंल्याएको छ । पटक-पटक पार्टीहरूले फौजी मोर्चा बनाए पनि दलका नेताको स्वार्थ पूर्ति भएपछि विसर्जन भएको भन्दै सत्ताको आमूल परिवर्तन लागि दीर्घकालीन रूपमा राजनीतिक दलको संयुक्त फौजी मोर्चा बनाइने उल्लेख छ ।

एक पोलिटब्युरो सदस्यका अनुसार राष्ट्रिय, अन्तर्राष्ट्रिय परस्थितिको विश्लेषण गर्दै सशक्त फौजी मोर्चाको आवश्यकताबारे केन्द्रीय कमिटी बैठकमा पनि बहस चलेको छ । ‘प्रतिवेदनमा पनि उल्लेख गरिएको छ, हामीले पनि बहस चलाएका छौं, संरचना कस्तो हुने भन्ने विषयमा बढी नै छलफल केन्दि्रत छ,’ ती पोलिटब्युरो सदस्यले भने । उनका अनुसार आवश्यक परे ‘राष्ट्रिय युवा जनस्वयंसेवक’ लाई फौजी मोर्चामा परिणत गरिने छ । ‘मुलुकको परिस्थतिअनुसार जनस्वयंसेवकमा आबद्ध युवा छँदै छन् । अन्य युवालाई पनि जनवादी क्रान्तिका लागि गोलबद्ध गर्ने बहस चलाएका छौं,’ उनले भने ।  अध्यक्ष वैद्यको करिब सय पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा राजनीतिक, फौजी र देशभक्त, राष्ट्रवादीहरूसँग संयुक्त मोर्चा बनाए अगाडि बढ्नुपर्ने जनाइएको छ । ती पोलिटब्युरो सदस्यका अनुसार प्रतिवेदनमा धेरैजसो पार्टीको आगामी कार्य दिशा र रणनीतिसम्बन्धी विषय समेटिएको छ । जनतासमक्ष पार्टी फुटको औचित्य सावित गर्न पनि आगामी कार्य दिशा सार्वजनिक गरिने उनले बताए । ‘जनतामात्र होइन हाम्रा साथी पनि अन्योलमा छन् । केन्द्रीय कमरेडबाट नै पार्टीका लाइनबारे स्पष्टताका लागि दबाव आएको छ, यो सबै प्रतिवेदनमा छ,’ उनले भने ।


पार्टी केन्द्रीय सदस्य भरत बमले हालसम्म भएका क्रान्तिमा जनताले बलिदान दिएको भन्दै अब नेतृत्वले नै बलिदानीका लागि तयार हुनुपर्ने बताए । ‘प्रतिवेदनमा आवश्यक परे नेतृत्व नै बलिदान लागि तयार हुने कुरा राख्न सुझाव दिएका छौं । जनताले पटक-पटक बलिदान दिएका छन्,’ उनले भने । नेतृत्व बलिदानीका लागि तयार नहुँदा एकीकृत माओवादी फुटेको समेत बैठकमा छलफल भएको उनले बताए ।