सत्ता नछोड्ने र सहमतिका कुरा गर्दै झुटको खेती एमाओवादीले गर्यो, क्रान्तिकारी पत्रकार महासंघले मंगलबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा उनले भने, ‘एकलौटी सत्ता चलाउन एमाओवादीले सबैलाई गुमराहमा पार्दैछ ।’ बाबुराम भट्टराईले प्रधानमन्त्री पद नछोडेसम्म राजनीति निकास ननिस्कने उनले बताए । संविधानसभा चुनावको कुरा गरेर अन्तरिम संविधानलाई सिध्याउने खेल भइरहेको तर्फ आम नेपाली सचेत हुन आग्रह गर्दै उनले एमाले, कांग्रेस र एमाओवादीको चंगुलमा आफ्नो पार्टी नफस्ने जिकिर गरे ।
सडक संघर्षको विकल्प छैन, उनले भने, ‘अन्तरिम संविधानमा चुनाव वा संविधानसभा पुनःस्थापनाको व्यवस्था छैन ।’ वर्तमान सरकारले हटाउने प्रमुख उपाय भनेको आन्दोलन भएको बताए ।
नेता गुरुङले संविधानसभा भंग गराउनेहरूले नयाँ चुनावबाट संविधान जारी गर्छौं भन्नु जनतालाई उल्लु बनाउने काम भएको आरोप लगाए । राजनीतिक संकटको निकास अन्तरिम संविधानबाट होइन, सर्वदलीय गोलमेच सम्मेलनबाटमात्र सम्भव भएको दाबी गरे । ‘चुनावमा जानु भनेको ५२ सालभन्दा अगाडिको अवस्थामा पुग्नु हो’, उनले भने, ‘अब सडक संघर्षको विकल्प छैन, संषर्षमा जान्छौं ।’
उता पार्टी निकट अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले साम्राज्यवादको हस्तक्षेपका कारण देश भुमरीमा परेको बताए । विगतमा सात दलबीच भएको १२ बुँदै सम्झौताको औचित्य समाप्त भएको बताए । उनले विगतको १२ बुँदे सम्झौताले आत्मसमर्पणवाद र संसदवादमा पुर्याएको बताउँदै संसदीय प्रणालीको पुनःस्थापनाका लागि चुनावको कुरा उठिरहेको तर्क अघि सारे । जनताको संविधान बनाउन क्रान्तिकारी नेतृत्व चाहिने र त्यो आफूहरूबाटमात्र सम्भव भएको उनको भनाइ थियो । सम्मेलनमा देशभरका १ सय भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको छ ।