काठमाडौं । अर्घाखाँची डट्कमले आकस्मिक रुपमा शुरु गरेको “डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान” को लागि देशविदेशबाट आर्थिक सहयोग संकलन शुरु भएको छ ।
१२ वर्ष अर्घाखाँचीमा बसेर सेवा गरी जिल्लाबासीका निकै प्रिय बनेका डा.चित्रप्रसाद शर्मा वाग्लेको जीवन रक्षाको लागि भन्दै वीर अस्पतालमा कार्यरत सह – प्राध्यापक डा. रेवती रमन मल्लले १५ हजार रुपैया सहयोग गरेका छन।
उनले वाग्लेको ग्लोबल आईएमई बैक खाता नं. – ४९०७०१०००१९३९ (Transfer ID: DC1164) मा जम्मा गरिदिएका हुन।
साथै मल्लले सक्दो आर्थिक सहयोग गरिदिन अर्घाखाँची डट्कम मार्फत सबैलाई आग्रह गर्दै आफु पनि आर्थिक संकलनको लागि परेको उल्लेख गरेका छन।
यसैगरी डा. मनोहर प्रधानले १० हजार रुपैया सहयोग गरेका छन । उनले राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरिदिएका हुन।
भारतको राजीवगान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेका डा.चित्रप्रसाद शर्मा वाग्ले साथमा उनकी श्रीमती सहित सुभचिन्तक ।
१२ वर्षसम्म एउटै जिल्लामा बसेर विरामीको सेवा गरेका डाक्टर विरलै पाईन्छ । तर रुपन्देही मुर्गियाका डा. चित्रप्रसाद शर्मा वाग्ले ०५८ सालदेखि अर्घाखाँची जिल्ला अस्पतालमा प्रमुख भएर आएदेखि कुनै विरामी उपचार नपाएर फर्कनु परेन ।
०५९ मा माओवादीले सदरमुकाम आक्रमण गरेको अर्को दिनदेखि प्रायः सबै सरकारी कार्यालयका प्रमुख सहित कर्मचारीले जिल्ला छाडे तर वाग्ले निरन्तर बसेर काम गरे । उनकै पालामा १५ शैयाको अस्पताल ३२ पुगेको छ । आपतकालिन रक्त व्यवस्था समेत सुविधा भयो । आपतकालिन स्त्री तथा शल्यकि्रयासम्म गर्न सक्ने लगायत थुप्रै पुर्वाधारको विकास भयो । रातको बेला समेत विस्ताराबाट उठेर दुई तीन पटक विरामी सुतेको वेडमा पुगेर हेरचाह गर्ने पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृट डाक्टर वाग्ले अहिले आफै विरामी परेर मृत्यु शैयामा छटपटाई रहेका छन ।
एपेन्डिक्स क्यान्सरले पीडित उनी खर्च धान्नै नसक्ने अवस्थामा छन । दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा महिनौ देखि उपचार गराईरहेका उनीले उपचार गर्दा खर्च अभावमा आफुसँग रहेको भिडियो एक्सरे मेसिन समेत बेचिसकेका छन ।
यसैगरी थाहा भए अनुसार आर्थिक सहयोग गर्ने सम्पूर्ण दाताहरुको विवरण अर्घाखाँची डट्कम मार्फत निरन्तर प्रकासित गर्ने “डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान” ले उल्लेख गरेको छ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.