अमेरीका । अमेरीकी राष्ट्रपति बाराक ओवामाले यसै महिना बर्मा भ्रमण गर्नुहुने भएको छ । प्रत्यक्ष सैन्य शाशनबाट राजनीतिक सुधारको बाटोमा हिडिरहेको बर्मा भ्रमण गर्ने ओवामा पहिलो अमेरीकी राष्ट्रपति बन्ने हुनुभएको हो ।दोस्रो पटक अमेरीकी राष्ट्रपति पदमा निर्वाचीत भए लगत्तै ओवामाले वर्मा भ्रमण गर्ने जानकारी ह्वाईटहाउसले दिएको छ । ओवामाले वर्मा भ्रमणलाई प्राथमिकता दिनुलाई निकै अर्थपुर्ण मानिएको छ । यसअघि गत वर्ष डिसेम्बरमा अमेरीकी विदेशमन्त्री हिलारी क्लिन्टनले बर्मा भ्रमण गर्नुभएको थियो ।
यही नोभेम्बर १७ देखी सुरु हुने एशीया भ्रमणको क्रममा ओवामाले थाईल्याण्ड र कम्बोडियाको समेत भ्रमण गर्नुहुनेछ । बर्मामा जारी प्रजातान्त्रीक सुधारको अभियानलाई बल दिन र नागरीक अधिकार प्रत्याभुतीको ग्यारेन्टी गराउन ओवामाले बर्मा भ्रमण गर्न लागेको जनाईएको छ । भ्रमणको क्रममा ओवामाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुची र राष्ट्रपति थेन सेनसँग भेटघाट गर्नुहुनेछ ।