अमेरिका । अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक डेविड पैट्रियसले विवाहपछि पनि अर्की केटीसँग सम्बन्ध राखेको खबर सार्वजनिक भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले त्यस्तो सम्बन्ध रहेको स्वीकार्दै अमेरिकी गुप्तचर संस्थाको प्रमुखका रुपमा आफूले गरेको व्यवहार ठीक थिएन भनेका छन् । पहिले इराक त्यसपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सेनाको कमाण्ड सम्हाल्दै डेविड पैट्रियस २०११ मा सीआईएको प्रमुख बनेका थिए ।
११ सेप्टेम्बर २००१ मा आतंकवादी हमला गरिएपछि पैट्रियस अमेरिकाको सबैभन्दा शक्तिशाली सैन्य अधिकारी थिए । इराक र अफगानिस्तानमा उनले गरेको कामको पनि प्रशंसा गरिन्थ्यो ।
पैट्रियसको राजीनामा बराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको ठीक तीन दिनपछि आएको हो । आफ्नो राजीनामा घोषणा गर्दैगर्दा उनमा पश्चाताप झल्किएको देखिन्थ्यो, समाचारमा उल्लेख छ ।
३७ वर्षे आफ्नो वैवाहिक जीवनपछि विवाहेतर सम्बन्ध कायम गरेर ठूलो गल्ती भएको उनले स्वीकारेका छन् । राष्ट्रपति ओबामाले राजीनामा स्वीकार्दै पैट्रियसले अमेरिकालाई सुरक्षित राख्न गरेको योगदानको प्रशंसा गरेका छन् । सीआईए प्रमुखको जिम्मेवारी भने उपनिर्देशक माइकल मोरेललाई दिइएको छ ।
– Agencies