-किरण ढकाल
नेपाल आयल निगमले एलपी ग्यासको मूल्य बढाउने तयारी गरेको छ । ग्यास र डिजेलमा भएको घाटाका कारण मासिक नोक्सानीमा कमी आउन नसकेपछि निगम ग्यासमा मूल्य वृद्धि गर्ने तयारीमा जुटेको हो ।
निगम स्रोतका अनुसार दुईथरी सिलिन्डर लागू गरी विद्यार्थीलाई सहुलियतको व्यवस्थासँगै मूल्य वृद्धिको तयारी सुरु भएको छ । तर, प्रतिसिलिन्डर कति रुपियाँ मूल्य वृद्धि गर्ने भन्नेमा अहिले छलफल भइरहेको स्रोतको दाबी छ ।
घरायसी र व्यावसायिक प्रयोजनका लागि खपत हुने सिलिन्डरको रङ फरक/फरक बनाएर सहुलियतको व्यवस्था भएपछि मूल्य बढाउने निष्कर्षमा निगम पुगेको हो । यसले अहिले भइरहेको घाटामा कमी आउने निगमको दाबी छ । अन्तर्राष्ट्रिय बजार मूल्यका कारण ग्यासमा घाटा बढ्दै गएकाले निगमले मूल्य वृद्धि विकल्पको रूपमा अघि सारेको हो ।