अफगान र नेटोसँग आबद्ध सेनाले जारी राखेको कारबाहीमा आठ तालिवानी लडाकुको मृत्यु

अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध सेनाले बिहीबार बिहानसम्म जारी राखेको कारबाहीमा आठ तालिवानी सशस्त्र लडाकुको मृत्यु भएको समाचारमा जनाइएको छ ।

कारबाहीमा बाह्र तालिवानी आतङ्ककारी पक्राउ पर्नुका साथै अन्य तीन घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयद्वारा बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको पनि सो समाचारमा उल्लेख छ ।

अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले विभिन्न क्षेत्रमा गरेको कारबाहीमा ती लडाकु मारिएको बताइएको छ ।

संयुक्त सेनाले काबुल, कुनार ,बाल्ख, फर्याब, कान्दाहार, उरुज्गान, मैदान, वार्दाक, लोगार, घाज्नी, पाक्टिया फराह र हेलमान्डप्रान्तमा गरेको कारबाहीमा आठ सशस्त्र तालिवानी आतङ्ककारी मारिएको जनाइएको छ ।

उक्त कारबाहीको क्रममा विभिन्न हातहतियार कब्जा गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यस कारबाहीमा सुरक्षाबलतर्फ भने हताहति नभएको समचारमा उल्लेख छ ।

यसैबीच प्राप्त अर्को एक समचार अनुसार अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा तालिवानीका वरिष्ठ कमाण्डर मुल्लाह नाबी अखुद्जादाको पनि मृत्यु भएको समाचार छ ।

अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध करिब एक लाख सेनाले तालिवानी लडाकुविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । कारबाहीका क्रममा दिनहुा त्यहाँ नागरिक हताहति हुने गरेको पनि समाचारमा जनाइएको छ ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिवानीविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि समाचारमा जनाइएको छ ।

तर पछिल्लो समयमा नेटो सैनिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएकाले नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै जाँदा अफगानिस्तानको सुरक्षाका चुनौतीहरू थप बढ्दै गएको बताइन्छ ।

 

 

Source:Ekantipur