अमेरिकी राष्ट्रपति बाराक ओबामा भ्रमणका क्रममा बर्मामा


अमेरिकी राष्ट्रपति बाराक ओबामा आज बर्मा पुग्नु भएको छ । ६ घण्टे भ्रमणका क्रममा उहाँले बर्मेली राष्ट्रपति थीन सीनसँग भेटवार्ता गर्नुभएको छ ।

 

यस्तै उहाँले विपक्षी नेता एवं प्रजातन्त्रवादी नेतृ आङ सांग सरु चीसँग पनि भेट गर्नुभएको छ । भ्रमणका क्रममा ओबामाले बर्माले राजनीतिक सुधारलाई अझै तीब्र पार्नुपर्ने बताउनु भएको छ । बर्मा भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति ओबामाले बर्मेली शासकहरुसँग यस्तो आग्रह गर्नुभएको हो । त्यहाँका राष्ट्र र सरकार प्रमुखहरुसँगको छलफलमा पनि ओबामाले लोकतन्त्रको यो मुद्दालाई बलियोसँग उठाउनु भएको खबर छ । बर्मा प्रजातन्त्रको बाटोमा लम्किरहेपनि अझै धेरै गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

 

यसअघि ओबामाले थाइल्याण्डकी प्रधानमन्त्री यिंगलुक शिनावात्रा र राजा भूमिबोलसँग भेटवार्ता गर्नुभएको थियो । दक्षिणपूर्वी एशियाको भ्रमण रहनुभएका ओबामा बर्मापछि कम्बोडिया जाने कार्यक्रम छ । जहाँ दक्षिण पूर्वी एशियाली राष्ट्रहरु आसियानको सम्मेलनमा उहाँले भाग लिनु हुनेछ । एसियामा चीनको बढ्दो प्रभावलाई रोक्न ओबामाले यस क्षेत्रको भ्रमण रोजेको विश्लेषण पनि गरिएको छ । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ओबामाले पहिलो विदेश भ्रमण पूर्वी एसियाबाट थाल्नुभएको हो ।

 

– Agencies