मुम्बई आक्रमणका अभियुक्त पाकिस्तानी नागरिक अजमल अमिर कसाबलाई आज फाँसी दिईएको छ । भारतको पुणेमा रहेको यरवडा कारागारमा उनलाई फाँसी दिइएको महाराष्ट्रका गृहमन्त्री आर आर पाटिलले सन्चारमाध्यमहरुलाई जानकारी गराउनु भएको छ । कसाबको शवलाई पाकिस्तान पठाउने हो वा भारतमा नै राख्नेबारे सरकारले बताएको छैन ।
मुम्बईमा सन् २००८ को नोभेम्बर २६ मा भएको आतंकबादी हमलाको क्रममा कसाव पक्राउ परेका थिए । भारतको सर्वोच्च अदालतले मृत्यु दण्ड दिने फैसला गरेकोमा उनले भारतका राष्ट्रपति प्रणब मुखर्जीसंग आफ्नो मृत्युदण्ड सजाय माफीको याचना गरेका थिए ।
गत महिना भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उनलाई माफी दिन अस्वीकार गरेपछी मृत्यु दण्ड दिइएको हो । मुम्बईमा सन् २००८ को नोभेम्बर २६ मा भएको आक्रमणमा एक सय ६६ जनाको मृत्यु भएको थियो ।
– Agencies