काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईको राष्ट्रका लागि सम्बोधन ‘शब्दजाल’मात्रै भएको विपक्षी कांग्रेस-एमालेले आरोप लगाएका छन् ।
उपलब्धीविहीन सम्बोधन गरेर सत्तामा निरन्तर रहने मनसाय प्रधानमन्त्रीमा देखिएको उनीहरुको ठम्याइ छ । ‘सम्बोधन अन्त्यन्तै भ्रामक ढंगले आएको छ, शब्दजाल बाहेक केही छैन,’ कांग्रेस नेता अर्जुन नरसिंह केसीले भने, ‘सम्बोधमा समाधान छैन ।’
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा विपक्षीले राम्रा काममा पनि सहयोग नगरेको गुनासो गरेका थिए । सम्बोधनभर उनले विपक्षीको अवरोधले सोचजस्तो काम गर्न नपाएको बताएका थिए ।
केसीले संविधानसभा विघटनको मुख्य कारक आफ्नै पार्टी र सरकार रहेको आमजनतामा छर्लंङ्ग हुँदा पनि विपक्षीलाई मनलाग्दी गाली गरेको बताए । उनले राष्ट्रिय आवश्यकतामाथि प्रधानमन्त्रीले गम्भीर अपराध गरेकोसमेत आरोप लगाए ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सम्बोधनले समाधानको बाटो नदिएको बताए । उनले आफ्ना गल्तीहरु ढाकछोप गर्ने मनसायले सम्बोधन आएको बताए ।
‘विपक्षीलाई दोषारोप र आफ्ना गल्ती ढाकछोप गर्ने मनसाय देखिएको छ,’ उनले भने, ‘आफ्नै कार्यकालमा संविधानसभा विघटन भयो, घोषित चुनाव हुन सकेन । यस्ता गल्तीहरुलाई समेत कहिं कतै महसुस ग रिएको पाइएन, मात्रै जस लिन खोजिएको छ ।’