राष्ट्रपति रामवरण यादवले राजनीतिक गतिरोध अन्त्यका लागि औपचारिक प्रक्रिया थाल्ने अन्तिम तयारी गरेका छन् । उनले सम्भवतः शुक्रबारै दुई साताको समय दिएर दलहरूलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि औपचारिक आह्वान गर्नेछन् ।
‘राष्ट्रपतिज्यूले दलका नेताहरूलाई बारम्बार निर्णयमा पुग्न आग्रह गर्दै आउनुभएको छ,’ उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘अब छिट्टै औपचारिक प्रक्रिया सुरु हुनेछ ।’ राष्ट्रपति यादवले गतसाता नै प्रमुख दलका शीर्ष नेताहरूलाई मंसिर ७ भित्र सहमति नगरे आफूले औपचारिक प्रक्रिया थाल्ने बताएका थिए ।
अन्तरिम संविधानको धारा ३८ (१) मा राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद् र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ । गणतन्त्र स्थापनायता राष्ट्रपतिले यसै धाराको प्रयोग गरी सरकार गठनका लागि आह्वान गर्ने, दलहरूले नसकेपछि समय थप्ने र त्यसमा पनि नभएमा ३८ (२) अनुसार प्रधानमन्त्री चयनका लागि संसद्लाई पत्राचार गर्ने अभ्यास गरेका थिए ।
प्रधानमन्त्रीलाई कामचलाउ घोषणा गर्दा नै सुरु भएको नयाँ सरकार गठनको प्रक्रिया छिटो टुंगोमा पुर्याउन शीतलनिवासलाई दबाब पर्दै आएको छ ।
तत्कालै नयाँ सरकार गठनको आह्वान गर्दा राजनीतिक मुठभेड निम्तिने खतराका कारण राष्ट्रपति यादवले दलहरूमार्फत सहमतिको निकास खोज्ने लामो प्रयास गरेका थिए । दलहरूले आफैंले पटकपटक तय गरेको समय सीमाभित्र सहमति गर्न नसकेका कारण राष्ट्रपति नयाँ सरकार गठनका लागि औपचारिक आह्वानको निर्णयमा पुगेका हुन् । तर यस्तो आग्रहमा गर्दा दिइने समय सीमाबारे अन्तिम निर्णय हुन बाँकी छ ।
पहिलो चरणमा प्रधानमन्त्रीलाई नै सहमति जुटाउन समय सीमासहितको लिखित आग्रह गर्ने विकल्पमा पनि छलफल चलेको स्रोतले जनाएको छ ।
राष्ट्रपति यादवले संविधानसभा निर्वाचनमार्फत मुलुकलाई निकास दिन आग्रह गर्दै आएका छन् । राष्ट्रपति यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच शीतलनिवासमा बिहीबार साँझ पौने घन्टा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री भट्टराईले निर्वाचनको वातावरण बनाउने सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको पछिल्लो निर्णय, राष्ट्रका नाममा गरेको सम्बोधनलगायतका विषयमा जानकारी गराएका थिए ।