राष्ट्रपतिको कदमबारे कांग्रेस-एमाले आन्तरिक छलफलमा/प्रधानमन्त्री कानुनविद्सँग

राष्ट्रपतिले ७ दिनभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न शुक्रबार दलहरुलाई आहृवान गरेको विषयमा विपक्षी कांग्रेस-एमाले आन्तरिक छलफलमा जुटेका छन् । एमाले स्थायी समिति बैठक जारी छ भने कांग्रेस सभापति निवासमा शीर्ष नेताहरुको बैठक बसिरहेको छ । दुवै दलले राष्ट्रपति कदमको स्वागत गरिसकेका छन् ।
राष्ट्रपतिले राजनीतिक सहमतीय सरकारका निम्ति ७ दिनभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न शुक्रबार दलहरुलाई आहृवान गरेका थिए । राजनीतिक गतिरोध अन्त्य गर्ने पटक पटकको प्रयास असफल भएपछि राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सरकार गठन प्रक्रिया थालेका हुन् । 
यसै बिच राजनीतिक सहमतीय सरकारका लागि ७ दिनभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपति रामवरण यादवले शुक्रबार दलहरुलाई गरेको आह्वानबारे प्रधानमन्त्री बाबुराम भट्टराई ले परामर्श सुरु गरेका छन् ।
प्रधानमन्त्रीले शनिबार दिउँसो १: ३० बजे कानुनविद्हरुसँग छलफल गर्ने स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा राष्ट्रपतिको कदमपछि आफूले चाल्ने रणनीतिमा केन्द्रित रहनेछ ।