काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सहमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट भएको आह्वानको स्वागत गर्दै नयाँ प्रधानमन्त्रीको खोजी थालेका छन् । दुबै दलले आज संयुक्त बैठक गरी सहमतिका लागि गम्भीर हुन सत्तागठबन्धलाई आग्रह समेत गरेका छन् । एमाले मुख्यालय बल्खुमा आज साँझ भएको २ दलको बैठकमा सहमतीय सरकार गठनका लागि गम्भीर पहल गर्ने निर्णय भएको हो ।
कांग्रेस एमालेले राष्ट्रपतिबाट स्वभाविक रुपमा मुलुकमा राजनीतिक गतिरोधको निकास खोज्ने प्रयासमा सम्बैधानिक कदम चालेको निश्कर्ष समेत निकालेका छन् ।
यसअघि आज विहान पार्टी सभापति सुशील कोइरालाको निवासमा भएको काँग्रेसका पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको आह्वानलाई सकारात्मक ठहर गर्दै सहमतिको सरकार गठनका लागि दलहरुबीच वार्ता तीब्र पार्ने निर्णय गरेको थियो ।
आजै विहान बसेको एमाले स्थायी समितिको बैठकले पनि राष्ट्रपतिको आह्वानलाई सकारात्मक ठहर गर्दै प्रधानमन्त्रीको साझा उम्मेदवार तयार गर्न आन्दोलनका साझेदार दलहरुसंग छलफल गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति डा. रामवरण यादवले हिजो अन्तरिम संविधानको धारा ३८ (१) अनुसार राजनीतिक सहमतिको आधारमा नयाँ प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न दलहरुलाई आह्वान गरेका थिए ।