राष्ट्रपति यादवले सहमतिको सरकार गठनका लागि दिएको सात दिने समयसीमाको दुई दिन बांकी रहंदा दलहरुको दौडधुप तीब्र

काठमाडौं  । राष्ट्रपति डाक्टर रामबरण यादवले सहमतिको सरकार गठनका लागि दिएको सात दिने समयसीमाको दुई दिन बांकी रहंदा दलहरुले दौडधुप तीब्र पारेका छन् । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति डाक्टर रामबरण यादवसंग भेटी सहमतीय सरकार बनाउने बारेमा भएको प्रगतिबारे जानकारी गराउनु भएको छ । उहांले सहमतिको सरकार बनाउन राष्ट्रपतिबाट दिईएको समयसीमा दुई दिन बांकी रहेकाले यस वीचमा सरकार बन्न नसके समयसीमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

 

त्यसैगरी कांग्रेस सभापति सुशील कोइरालासंग मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भेटी राष्ट्रिय सरकार निर्माण र सहमतिको प्रक्रियाबारे छलफल गर्नुभएको छ । सभापति कोइरालाले सहमतीय सरकारको नेतृत्व गर्ने काममा कांग्रेसलाई सघाउन आग्रह गर्नुभएकोमा गच्छदारले प्याकेजमा सहमति भए कांग्रेस नेतृत्व स्वीकार्ने बताउनु भयो । सभापति कोइरालासंग अमेरिकी राजदुत पीटर बोडेले पनि आजै भेट्नु भयो । उता, नेकपा एमालेले प्रधानमन्त्रीको उम्मेदवारबारे छलफल गर्न आजै पोलिट्ब्युरो बैठक बोलाएको छ । आज मध्यान्ह पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा सहमतीय सरकारको नेतृत्व र सहमतिका आधारबारे निर्णय हुने बताईएको छ ।

 

नेपाली कांग्रेसमा प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने बारेमा धारणा बनाउन कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आज आफु निकटका नेताहरुको अलग्गै भेला डाक्नु भएको छ । उहांले प्रधानमन्त्रीको उम्मेदवारमा आफुले दावी नगर्ने र सभापति सुशील कोइरालालाई समर्थन गर्नेबारेमा सल्लाह गर्न अलग्गै भेला बोलाउनु भएको बुझिएको छ । कांग्रेसले उम्मेदवार तोक्न नसक्दा १६ दलीय गठबन्धनमा साझा उम्मेदवारबारे अझै अन्यौल छ ।

 

– RSS