प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा सरकार लगानी मैत्री वातावरण बनाउन सफल भएको दाबी

काठमाडौं  । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार लगानी मैत्री वातावरण बनाउन सफल भएको दाबी गर्नुभएको छ । निजी क्षेत्र र वैदेशीक निकायले सरकारले चालेका कार्यक्रमले लगानी मैत्री वातावरण बनेको आफूलाई भनेको उहाँले जिकिर गर्नुभएको हो ।


नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १५औं स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले केहि वर्षभित्र राजनीतिक समस्या समाधान भई आर्थिक विकास तर्फ मुलुक अगाडि बढ्ने पनि बताउनुभयो । मुलुकले संक्रमणकालिन अर्थनीति अपनाइरहेको भन्दै उहाँले पछिल्लो समय आयात बढेको तर्फ सरकार संवेदनशील बनेको बताउनु भयो । नयाँ बजेट ल्याउन नसकिएको अवस्थामा अहिलेको आर्थिक सूचकहरु अत्यन्त सकारात्मक रहेको प्रधानमन्त्रीले दाबी गर्नुभयो । पुरानै सरकारको नीति तथा कार्यक्रमलाई निरन्तरता दिएर पूर्ण बजेट ल्याउन नदिएको अवस्थामा अहिलेको आर्थिक सूचकलाई उपलब्धिमूलक मान्नुपर्ने उहाँको भनाई हो ।


अर्थमन्त्री वर्षमान पुनले पनि आफ्नो १५ महिने कार्यकालमा मुलुकको समग्र आर्थिक अवस्था सुधारिएको दाबी गर्नुभयो । उहाँले तीन खम्बे अर्थनीतिमा सहकारीलाई राख्दा निजी क्षेत्रलाई हतोत्साहित पार्ने काम भएको नसोच्न निजी क्षेत्रलाई आग्रह पनि गर्नुभयो । सहकारीलाई आफ्नो प्रतिष्पर्धी नठान्न पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधान, अध्यक्ष प्रदीप चापागाँई लगायतले मुलुकको पछिल्लो आर्थिक अवस्था र चालिनुपर्ने कदमका विषयमा धारणा राख्नुभएको थियो । सेनजले हरेक वर्ष प्रदान गर्दै आएको वर्षको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

 

– RSS