भारत र पाकिस्तानबीचको विवादास्पद काश्मीर क्षेत्रमा भएको हिम पहिरोमा परी कम्तिमा १८ जना वेपत्ता भएका छन् । जसमा आठ जना पाकिस्तानी सैनिकसमेत छन् ।
पाकिस्तान नियन्त्रित कश्मीरको पर्वतीय नीलम घाँटीमा हिमस्खलन भएको अधिकारीहरुले बताएका छन् । ती सैनिक यसअघि भएको हिम पहिरोमा पुरिएका आफ्ना साथीको खोजी गर्न पुगेका थिए । उद्धार टोलीले दुई जनाको शव खोज्न नपाउँदै अर्को पहिरो गएको थियो ।
उक्त स्थान पाकिस्तान नियन्त्रित कश्मीरको मूख्य शहर मुजफ्फरावाददेखि १३० किलोमिटर टाढा दाना ताजियानमा रहेको बताइएको छ । यो हिमालय क्षेत्र आफ्नो देशको भएको भन्दै भारत र पाकिस्तानले अहिलेसम्म दुई पटक युद्ध लडेका छन् ।
सन् २००३ मा उक्त क्षेत्रमा युद्धविराम लागू भएपनि दुबै देशले आफ्ना हजारौं सैनिक तैनाथ गरिराखेका छन् । ठूलो मात्रामा हिमपात युँदा यो दुर्घटना भएको खबरमा उल्लेख छ । यसै वर्षको अप्रिलमा सियाचीन हिमालमा गएको हिम पहिरोमा दबिएर १ सय ४० पाकिस्तानी सैनिकको मृत्यु भएको थियो ।
– Agencies