कपिलवस्तु: महिला अधिकारप्रति सम्मान गरौं

– कृष्ण खनाल

 

बुटवल, मंसिर१६ – महिला हिंसा अन्त्यका लागि प्रत्येक व्यक्तिले आफु र आफ्नै घर परिवारबाट शुरुवात गर्नु पर्ने कपिलवस्तुमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

 

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा तौलिहवामा आयोजिक कार्यक्रममा सहभागीहरुले घरघरबाट महिलाहरुलाई अवसर प्रदान गर्दै महिला अधिकारप्रति सम्मान गर्न सके मात्रै यस्तो समस्या समाधान हुने बताएका छन् । जिल्लामा लैगिक हिंसा कम गर्न कार्यरत सरोकारवालाहरु तथा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरको सहभागितामा संपन्न कार्यक्रममा महिला हिंसा विरुद्ध अपनाउनु पर्ने कुराहरुका बारेमा छलफल गरिएको थियो ।

 

कार्यक्रममा महिला विकास अधिकृत कलावती ओझाले महिला विकास कार्यालयले महिला हिंसा न्यूनीकरणका लागि विशेष अभियान संचालन गर्दै आए पनि सो अभियान सफल पार्न सवै नागरिकको सहयोग हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी कानुन व्यवसायीहरुले महिला हिंसाका घटनाहरुलाई घर भित्रै अथवा प्रहरी कार्यालयमै मिलापत्रको नाममा सिमित पारिदिंदा हिंसा पिडित महिलाले कानुनी उपचार पाउन नसकेको बताएका थिए ।

 

 कार्यक्रममा लैंगिक हिंसा न्यूनीकरण सम्वन्धी जिल्ला संयोजन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, महिला िहंसा विरुद्ध कार्यरत संघ संस्थाका प्रतिनिधी, प्रहरी तथा सरकारी निकायका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।