गोमा एयरको विमान डोल्पामा दुर्घटना

नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलतर्फ उडेको गोमा एयरको ९एन -एजेयु कल साइन रहेको सिङ्गल इन्जिन सेस्ना २०८ बी विमान अवतरण गर्ने क्रममा टायर पड्केर दुर्घटना भएको छ। दुर्घटनाग्रस्त विमान सञ्जीव श्रेष्ठ र प्रज्ज्वल भट्टराईले उडाएका थिए।   
‘कच्ची रनवेमा कुदिरहेको बेला टायर पडकिएर सामान्य दुर्घटना भएको हो’, गोमाका क्याप्टेन नगेन्द्र भट्टराईले बताए।
बिहान १० बजेतिर सामान बोकेर उडेको भएर विमानमा यात्रुहरु नभएको उनले बताए। सन् १९९९ मा बनेको सो विमानमा १२ सिट रहेको छ।
‘अहिले विमान रनवेमा नै छ’, भट्टराईले भने, ‘प्राविधिकसहितको टोली हामीले यहाँबाट पठाइसकेका छौँ। भोलिसम्ममा बनाएर फर्काउन सकिने आशा छ।’
रनवेमा दुर्घटनाग्रस्त विमान रहेकोले विमानस्थलमा विमान अवतरण र उडान रोकिएको छ।