सहमतीय सरकारको नेतृत्वबारे दलहरु बीच विवाद

राष्ट्रपति रामवरण यादवले अहिलेकै सरकारलाई राष्ट्रिय सहमतीय सरकार बनाउन सकिने प्रतिक्रिया दिएको भोलिपल्ट सत्तापक्षीय र विपक्षी दलहरुबीच सहमतीय सरकारको नेतृत्व बारेको विवाद झनै चर्किएको छ।
एकीकृत माओवादीको आइतबार बसेको संक्षिप्त पदाधिकारी वैठकले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिन सकिनेमा पुन: जोड दिएको सो दलका प्रवक्ता अग्नी सापकोटाले बताए।तर विपक्षी दलहरुले त्यस्लाई अस्वीकार गर्दै वर्तमान प्रधानमन्त्रीको राजिनामा नै सहमतिको निम्ति पुर्वशर्त भएको अडान दोहोर्‍याए।
राष्ट्रपतिले दलहरुलाई सहमतीय सरकार गठन गर्न थपिदिएको समयसीमा सकिन अब चार दिन बाँकी छ।
अहिलेकै सरकारमा सबैको सहमति भए सुनमा सुगन्ध हुने भन्ने राष्ट्रपतिको प्रतिक्रिया सार्वजनिक भएको भोलिपल्ट दलहरुबीचको विवाद बढेको देखिएको छ । 
ठुला विपक्षी दलहरु प्रधानमन्त्री फेरिनु पर्ने अडानबाट टसकोमस भएका छैनन्।
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमतिको निम्ती एकीकृत माओवादी पुराना सहमतिप्रति इमान्दार हुनु पर्नेमा जोड दिए।
“अब नेपाली कांग्रेसको नेतृत्व भनेर पहिला नै सहमति भइसकेको थियो, त्यसप्रति सत्तापक्षीय दल इमान्दार हुनु पर्‍यो” नेपाली कागेंशका प्रवक्ता,दिलेन्द्रप्रसाद बडुले भने ।