मनोज अधिकारी, नागरिक
पोखरा – आगामी दुई वर्षभित्र नेपालमा एचआईभी संक्रमणको दर शुन्यमा झार्ने महत्वकाँक्षी लक्ष्य अघि सारिएको छ। अहिले यो दर ०.३ प्रतिशतको हाराहारीमा छ। एचआईभी संक्रमितलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्यालई एआरभी (एन्टी रेट्रो भाइरल) औषधीको सेवनबाट यसको संक्रमण दर तिब्र गतिमा झार्ने लक्ष्य अघि सारिएको हो।
एआरभी सिडी फोर काउन्ट ३ सय ५० भन्दा कम भएका संक्रमितले खाने प्रतिरोधात्मक औषधी हो। यो औषधीको सेवनले असुरक्षित यौन सम्पर्क तथा गर्भवती आमाबाट जन्मने शिशुमा समेत एचआईभी भाइरस सर्न दिंदैन।
पोखरामा मंगलबार सकिएको चौंथौं राष्ट्रिय एड्स सम्मेलनले यही मुख्य प्रतिवद्वतासहित १६ बुँदे घोषणा-पत्र जारी गरेको छ। नेपालमा पछिल्ला वर्षमा एचआइभी संक्रमण दर उल्लेख्य मात्रामा घटेको दावी गरिएको छ। यौनकर्मी र तिनका ग्राहकले कण्डमको अनिवार्य प्रयोग गर्न थालेको र धेरैमा एआरभीको उपलब्धताले संक्रमण दर घटेको अधिकारीले बताएका छन्।
एकजना मात्र संक्रमित भयो भने समाजमा ठूलो क्षति पुग्छ भन्ने मान्यताअनुरुप यो रोगको संक्रमण दर शुन्यमा झार्ने प्रतिवद्वतालाई सम्मेलनले विशेष जोड दिएको हो। यसका लागि सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, एचआईभी संक्रमित तथा तिनका परिवार र पीडितसँग सहकार्यका लागि आव्हान गरिएको छ।
‘आमाबाट बच्चामा सर्ने संक्रमणलाई तुरुन्त निर्मुल गरिनुपर्छ’ सम्मेलनद्वारा पारित घोषणापत्रमा छ,’गर्भवती आमालाई अनिवार्य एचआईभी परीक्षण गराई संक्रमण देखिए तत्कालै एआरभी खुवाउनेतर्फ विशेष अभियान थालिने छ।’
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक कृष्णकुमार राईले एआरभी सेवन गर्ने गर्भवती आमाबाट जन्मने शिशुमा एचआईभीको भाइरस नसर्ने हुनाले यो सत्प्रतिशत प्रभावकारी रहेको बताए। अहिले जोकोही महिला गर्भवती भएपछि अस्पतालमा गरिने परीक्षणमा एचआईभी पनि अनिवार्य हुने गरेको छ। नेपालमा कुल संक्रमितको ०.३ प्रतिशत गर्भवती आमा यसको संक्रमणमा छन्।
राईले उच्च जोखिमका अछाम, कैलाली र सुनसरीमा यस्तो सेवा सुरु भइसकेको र छिटै थप जोखिमका १५ जिल्लामा यो सेवा पुर्यागउने जानकारी दिए। सम्मेलनका सहभागीले यस्तो सेवा जतिसक्दो छिटो पचहत्तरै जिल्ला (देशभर) पुर्यादउन जोडदार माग गरेका छन्। हाल नेपालमा कुल ५१ हजार एचआईभी संक्रमित छन्। तीमध्ये ३० प्रतिशत अर्थात् करिब ८ हजारले मात्र एआरभी सेवनको अवसर पाएका छन्। खुलेर आएका र पहिचान भएका सबै संक्रमितलाई उचित परीक्षण सुविधासहित एआरभी औषधीको पहुँचमा पुर्यारउन घोषणापत्रमार्फत् माग गरिएको छ।
केन्द्रकाअनुसार पछिल्लो दश वर्षको अध्ययनले नेपालमा एचआईभी संक्रमण दर २५ प्रतिशतले घटेको छ। सन् २००१ देखि २०११ सम्मको अध्ययनमा यो तथ्य खुलेको हो। आधारभुत स्वास्थ्य सेवालाई मानवअधिकारको रुपमा लिंदै सम्मेलनले सम्बन्धित निकाय, नागरिक समाज र स्थानीय समुदायलाई गाउँ-गाउँमा एचआईभीबारे जनचेतना विस्तारका लागि अपिल गरेको छ। सहरदेखि ग्रामिण भेगसम्म एचआईभी संक्रमितमाथि हुने हिंसा, दुर्व्यवहार र विभेदविरुद्व चर्काे आवाज उठाउने प्रतिवद्वता सम्मेलनले गरेको छ।
एचआईभी संक्रमितलाई पहिलो रोग क्षयरोग लाग्ने र उसको मृत्यु त्यसकै कारण हुने तथ्यका आधारमा नयाँ औषधी प्रयोगमा ल्याईएको छ। दुई दिनअघि मात्र प्रयोगमा आएको आइसोनियाजाइड (क्ष्कयलष्बशष्म) औषधीलाई बढीभन्दा बढी संक्रमितसम्म पुर्या उन सम्मेलनले जोड दिएको छ।
एचआईभीविरुद्वको अभियानमा जिम्मेवारी बाँडफाँड गरी अघि बढ्ने उद्घोष गरेका सहभागीले विश्वयापीरुपमा घट्दो आर्थिक सहयोगका कारण थपिने चुनौती सामना गर्न विकल्पको खोजी गर्नुपर्ने आवाज उठाएका छन्। सन् २०१५ पछि ग्लोबल फण्डको बजेट रोकिने र मुख्यदाता नहुँदा त्यसपछि एचआईभी/एड्सको क्षेत्रमा भईरहेको कामलाई कसरी अघि बढाउने भन्ने चुनौती सरोकारवालाले व्यक्त गरेका छन्।
‘विश्वव्यापी आर्थिक मन्दीलगायत कारणले विश्वभरबाट आउने सहयोग घट्दैछ’ केन्द्रका निर्देशक राईले भने,’सन् २०१५ पछि के गर्ने भन्ने सबैको चिन्ता स्वभाविक हो। यस्तो अवस्थामा आफैं सक्षम हुने उपायको खोजी गरिनुपर्छ भन्ने सम्मेलनको निचोड छ।’
सम्मेलनका सहभागीले राज्यकोषबाट उपलब्ध हुने बजेटलाई लक्षित वर्गसम्म सही र प्रभावकारी रुपमा लगानी गर्न सहभागीले जोडदार आवाज उठाएका छन्। नेपालमा वर्षेनी अरबौं रुपैयाँ एचआईभीको क्षेत्रमा खर्च हुने अनुमान छ। राईकाअनुसार सरकारले केन्द्रमार्फत् खर्च गर्ने वार्षिक बजेट ५० करोड रुपैयाँ हो। यसबाहेक दाता राष्ट्रहरुबाट सिधै गैरसरकारी संस्थाहरुमा आउने ठूलो रकमको कुनै लेखाजोखा नहुने राईले बताए।
समापन समारोहका अध्यक्ष डा.पदमबहादुर चन्दले सम्मेलनका उपलब्धी भोलिबाटै व्यवहारमा कार्यान्वयन भए मात्रै चार दिने सम्मेलन सार्थक हुने टिप्पणी गरे। उनले लगानीअनुसारको फाइदा पुग्यो कि पुगेन भनेर मुल्याङ्कन गर्न सम्मेलनका सहभागीलाई आग्रह गरे।
‘यहाँ चार दिनसम्म भएका छलफल र घोषणापत्रलाई भोलिबाटै व्यवहारमा लागू गर्न सकियो भने मात्र सम्मेलन सफल भएको मानिन्छ’ चन्दले भने,’नत्र यो औपचारिकता बाहेक अरु केही सार्थक बन्न सक्दैन।’
सम्मेलन संयोजक दीपक कार्कीले स्वदेश तथा विदेशका गरी करिब एक हजार सहभागी सम्मेलनमा १ सय ५० अनुसन्धानका कार्यपत्र, १५ वैज्ञानिक सत्र, १० क्षमता कार्यशाला गोष्ठी र २० एचआइभी सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको जानकारी दिए।