मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा अस्थायी न्यायाधीशका सम्बन्धमा कुनै छलफल भएन । बुधबार पनि दलहरुवीच सहमति भई सरकारबाट अर्को निर्णय नआए विहीबारबाट सर्वोच्चमा ७ जना न्यायाधीशमात्रै रहनेछन् ।
गतसाल मंसिर २१ गते एकैदिन अस्थायी न्यायाधीशमा नियुक्ति पाउनुहुने कमलनारायण दास, प्रा.डा. भरतबहादुर कार्की, ज्ञानेन्द्रबहादुर कार्की, तर्कराज भट्ट र बैद्यनाथ उपाध्यायको म्याद थपिएन वा उहाँहरु स्थायी न्यायाधीशमा बढुवा हुनुभएन भने बिहीबार सबैको एकै दिन म्याद सकिँदैछ ।
म्याद नथपिए प्रकाश वस्तीको पदावधि माघ ९ मा सकिन्छ ।
गत जेठ १८ मा गोली हानी हत्या गरिएका रणबहादुर बमदेखि अवकाश पाएका न्यायाधीशहरु तपबहादुर मगर, अवधेसकुमार यादव, प्रेम शर्मा, कृष्णप्रसाद उपाध्याय, बलराम केसी र मोहनप्रकाश सिटौलाको ठाउँसमेत अहिलेसम्म खाली छ ।
अन्तरिम संविधानको धारा १०२ (५) अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त बढीमा १४ जना न्यायाधीश रहने व्यवस्था छ । कुनै समय मुद्दाको संख्या बढ्न गएमा निश्चित समयका लागि मात्रै अस्थायी न्यायाधीश राख्न पाउने संवैधानिक व्यवस्था छ । तर, सर्वाेच्चमा केही वर्षयता अस्थायी न्यायाधीश नियुक्ति गर्ने परम्परा नियमित जस्तै बनिसकेको छ ।
मन्त्रालय एवं राजनीतिक नियुक्ति हुने ठाउँमा मानिसहरुको हानाथाप हुने गरे पनि अदालतमा कुर्सीका लागि प्रतिस्पर्धा कमै हुने गरेको सुनिन्छ । आउँदो माघ ९ सम्म कार्यकाल हुँदाहुँदै सर्वोच्च अदालतका अस्थायी न्यायाधीश भरतराज उप्रेतीले यसै साता राजीनामा दिनुभएपछि अहिले अदालतभित्रको असन्तुष्टि र प्रतिस्पर्धाको खेल सतहमा आएको छ । अर्कातिर न्यायाधीशहरुको पद खाली हुँदै गएपछि सर्वोच्चमा योग्यता पुग्नेहरुलाई नयाँ जागिरको बाटो समेत खुलेको छ ।