नेपाली काङ्ग्रेसले सभापति सुशील कोइरालालाई सहमतीय सरकारको प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको छ । केहीबेर अघि सकिएको केन्द्रीय समितिको बैठकले कोइरालालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको बैठकले बिहान पदाधिकारी बैठकले प्रधानमन्त्रीको उम्मेद्वार कोइरालालाई बनाउने निर्णयलाई अनुमोदन गरेको हो । विपक्षी दलहरूबाट काङ्ग्रेसलाई छिटो प्रधानमन्त्रीको उम्मेद्वार तय गर्न दबाब पर्दै आइरहेको थियो । उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी छाड्नु भएपछि कोइरालाको नाममा सहमति गर्न सहज भएको हो । काङ्ग्रेसले प्रधानमन्त्रीका लागि पार्टीभित्र सहमति जुटाइसकेपछि समर्थनका लागि अरू दलहरूसँग पहल गर्ने जनाएको छ । साना दलहरुले भने कोइरालालाई समर्थन गर्ने सम्भावना देखिएको छ । साना दलका तर्फबाट बिहान काङ्ग्रेस सभापति सुशील कोइरालासँग भेट गर्नु भएका राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले १५ दलको तर्फबाट समर्थन रहेको बताउनुभएको थियो ।
आजै सहमति जुटाउने प्रयासस्वरुप मुख्य चार शक्तिको बैठक बस्दै छ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाको बैठक प्रचण्ड निवास लाजिम्पाटमा दिउँसो ४ बजेपछि बस्ने भएको छ । यसैगरी राजनीतिक निकासबारे छलफल गर्न ३ बजेपछि सत्तारूढ दलहरू एकीकृत माओवादी र मधेसी मोर्चाको बैठक पनि बस्ने भएको छ ।
Binod gaire Arghakhanchi