सहमतिको सरकार गठनको लागि तेस्रो पटक फेरि ६ दिन समय थप

काठमाडौं – दोस्रोपटक सहमतिको सरकार गठन गर्न दिएको समयसीमा सकिएको भोलिपल्ट(आज) सहमतिको सरकार गठनको लागि राष्ट्रपतिले ६ दिन समय थपेका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति डा. रामवरण यादवबीच भएको छलफल पछि सहमतिय सरकार गठन गर्न दलहरुले फेरि ६ दिनको समय पाएका हुन् । 


 
आज बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपित यादव र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा प्रचण्डले चार दलको निर्णय बारे जानकारी गराउँदै राष्ट्रपतिसमक्ष सहमति गर्ने समय माग गरेका थिए । अध्यक्ष प्रचण्डको आग्रहपछि राष्ट्रपतिले ६ दिनको समयअवधि थप गरेका स्रोतले जनाएको छ ।


राष्ट्रपतिले सहमतिय सरकारका लागि दिएको दोस्रो समयसीमाको हिजो अन्तिम दिन सेना समायोजन विशेष समितिको कार्यालयमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले राष्ट्रपतिसँग फेरि समय थप गर्न माग गर्ने सहमति गरेका थिए ।


यसैबीच राससका अनुसार एक घन्टाभन्दा बढी भएको छलफलमा राजनीतिक दलका बीचमा सहमतिको प्रयास भइरहेकाले म्याद थपका लागि आग्रह गरिएको एमाओवादी अध्यक्ष दाहालले जानकारी दिए ।



‘राष्ट्रिय सहमतिको सरकार गठन, नयाँ संविधानसभा निर्वाचनका लागि आवश्यक पर्ने ऐन, नियम तथा कानुनको व्यवस्थालगायत विषयमा दलहरुका बीचमा गम्भीर छलफल भइरहेकाले म्याद थपेर भए पनि सहमति गर्नुपर्छ भन्ने मान्यताअनुसार आफूले राष्ट्रपतिलाई आग्रह गरेको र सोहीबमोजिम उहाँले म्याद थप गर्नुभएको छ,’