आज भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस, प्रधानमन्त्रीद्धारा भ्रष्टाचारीबाट आफ्नै अन्त्य हुने खतरा बढेको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्च राजनीतिक तथा प्रशासनिक तहबाटै मलजल पाएकाले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान सफल हुन नसकेको बताउनुभएको छ । सरकारको नेतृत्व गरेदेखि नै आफूले भ्रष्टाचार अन्त्यका लागि पहल गरे पनि भ्रष्टाचार अन्त्य हुनुको साटो भ्रष्टाचारीबाट आफ्नै अन्त्य हुने खतरा बढेको उहाँले टिप्पणी गर्नुभयो । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्र्दभमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले ऐन, कानूनमै सुधार गरेर भ्रष्टाचारको अन्त्यका लागि आफूले पहल थाल्ने बताउनुभयो ।


अख्तियारमा पदाधिकारी नियुक्तिका लागि अध्यादेश ल्याउन निर्णय गरे पनि जारी हुन नसकेका कारण काम गर्न नसकिएको प्रधानमन्त्रीको तर्क थियो । कार्यक्रममा ट्रान्सफरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष बिष्णुबहादुर केसी, पत्रकार महासंघका सभापति शिव गाउँलेले भ्रष्टाचार अन्त्यका लागि नीतिगत तहबाटै सुधार हुनुपर्ने बताउनुभयो ।


भ्रष्टाचारले विश्वमा महामारीको रुप लिएपछि त्यस विरुद्ध लड्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् २००३ देखि यो दिवस मनाउन थालिएको हो । भ्रष्टाचारले विकासोन्मुख देशहरु बढी थिलथिलो हुने गरेको छ । भ्रष्टाचारविरुद्ध क्रियाशील अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको यस वर्षको प्रतिवेदनमा पनि नेपाल सर्वाधिक भ्रष्टाचार हुने देशको सूचीमा अग्रस्थानमा रहेको छ ।

 

– RSS