काठमाडौ – सत्तारुढ दल एमाओवादीले विभिन्न बखेडा झिकेर सहमति गर्न नखाजेको भन्दै प्रतिपक्षी दलहरुद्धारा गठित कार्यदलले अब आन्दोलनमै जानुपर्ने निष्कर्ष निकालेको छ ।
सो कार्यदलको आइतवार बसेको बैठकले वार्ता र संवादबाट सहमति खोज्ने लामो प्रयासलाई सत्तारुढ दल एमाओवादी र मधेसी मोर्चाले लत्याएकाले अब वार्ता नभई आन्दोलनमा जानुपर्नेमा प्रतिपक्षी दलका शीर्षस्थ नेतृत्वलाई आग्रह गर्ने भएको हो ।
बैठकपछि कार्यदलका सदस्य तथा एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले प्रतिपक्षी दलहरु वार्ता र संवादका माध्यमबाट राष्ट्रलाई निकास दिनका लागि चाँडो राष्ट्रिय सहमतीको सरकार गठन गर्नुपर्नेमा जोड दिँदासमेत त्यसलाई लत्याएर एकपछि अर्को बखेडा झिक्ने सत्तारुढ दलविरुद्ध आन्दोलनमा जानुपर्ने ठहर गरिएको जानकारी दिए ।
उनले सत्तारुढ दल एमाओवादीले राष्ट्रिय सहमतीय सरकारको नेतृत्वका लागि उम्मेदवार चयन गर्न गरेको आग्रहबमोजिम प्रतिपक्षीले नेपाली काँग्रेसका सभापतिलाई अघि सारेको अवस्थामा पनि सहमति हुन नसकेपछि अब आन्दोलनको विकल्प नभएकोमा जोड दिए ।
कार्यदलले मङ्सिर महिनाभित्रै प्रतिपक्षी दलमा सम्मिलित काँग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीलगायतको बैठक बसेर आन्दोलनको स्वरुप निर्धारण गर्नुपर्ने सुझावसमेत दिएको छ ।
सत्तारुढ दल राष्ट्रपतिले दिएको पछिल्लो ६ दिनको समयसीमाभित्र पनि कुनै सहमति नगरेर यही सरकारलाई निरन्तरता दिने मनस्थितिमा रहेको भन्दै कार्यदलले अब कडा आन्दोलन थाल्नुको विकल्प नभएको र त्यसका लागि आवश्यक गृहकार्य गर्नुपर्नेमा जोड दिएको छ ।
रासस