आगामी पौष ८ गते राष्ट्रपति रामवरण यादव बनारस हिन्दू विश्वविद्यालयको निम्तो मान्न भारत जाँदै /भारत जानुअघि नै सरकार बनाउने राष्ट्रपतिको इच्छा

आगामी पौष ८ गते राष्ट्रपति रामवरण यादव बनारस हिन्दू विश्वविद्यालयको निम्तो मान्न भारत जाँदै हुनुहन्छ । अघिल्लो साता नेपाल आएका करण सिंहले दिएको निम्तो मान्न राष्ट्रपति भारत जान लाग्नुभएको हो ।सरकार गठनका लागि राष्ट्रपतिले विहीबार दलहरुलाई दिनुभएको चौथो समयसीमा पौष २ गते सकिने छ । राष्ट्रपतिले अन्तिमपटक भन्दै बिहीबार ५ दिनका लागि सरकार गठनको म्याद दलहरुलाई दिनुभएको हो । तर, नयाँ सरकार गठन गरेरमात्रै भारत जाने उहाँको इच्छा रहेको बुझिएको छ ।
पछिल्लोपटक दिइएको समयसीमाभित्रै दलहरु सहमतिमा पुगे भने राष्ट्रपति भारत जानुअगावै सहजरुपमा नयाँ सरकार गठन हुनेछ । तर, पौष २ सम्म पनि प्रधानमन्त्री छान्न दलहरु असफल भएमा भारत जानुअघि राष्ट्रपतिका लागि ५ दिनमात्रै समय रहनेछ ।कांग्रेसनिकट स्रोतको दाबीअनुसार अबको पाँच दिनभित्र संविधानको धारा ३८ (१) अनुसार सरकार गठन हुन सकेन भने राष्ट्रपतिले त्यसपछि ३८ (२) अनुसार दलीय बहुमतका आधारमा सुशील कोइरालालाई प्रधानमन्त्री चयन गर्ने सम्भावना छ । त्यसो त राष्ट्रपति डा. यादवले मंगलबार नेकपा माओवादी, माले, नेमकिपा, नेकपा संयुक्त र बुधबार संयुक्त मधेसी मोर्चाका नेतासँगको भेटमा दलहरु सहमतिमा नपुगे आफूले सर्वदलीय बैठक डाक्ने जनाऊ दिइसक्नुभएको छ ।
तर, सो सर्वदलीय बैठकबाट के गर्ने भन्ने राष्ट्रपतिको पूर्णयोजना भने बाहिर आएको छैन ।कांग्रेस नेताहरुले राष्ट्रपति बहुमतीय सरकार गठनका लागि अघि बढ्ने आशा गरे पनि यसअघि नै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दहालले राष्ट्रपति ३८(१) भन्दा अघि नबढ्ने सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ ।