पाँचथर । पाँचथरमा बालविवाह गरेको भन्दै एक जोडीलाई बालक्लबको पहलमा पक्राउ गरिएको छ ।
सदरमुकाम फिदिमको पल्लोटार निवासी धनकुमार धमलाका १७ वर्षीय छोरा राजन धमला र पाँचथर लुम्फाबुङ गाविस निवासी नरेन्द्र घिमिरेकी १५ वर्षीया छोरी सुमित्रालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला बाल क्लव सञ्जालका पूर्व अध्यक्ष तथा सल्लाहकार सुन्दर लावतीको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो । बेहुलाबेहुलीको उमेर नपुगेको भनिए पनि उनीहरुले आफूहरुले राजीखुसीसाथ अन्तर्जातीय विवाह गरेको बताएका छन् । सुमित्रा यसअघि मंसिर ८ गते नै भागेर बेहुलाको घरमा बसिरहे पनि शुक्रबार विवाह समारोह भएपछि प्रहरीले पक्राउ गरेको हो ।
तीन साताअघि नै भागी विवाह गरेपछि केटाकेटी पक्षबीच असमझदारी बढेको हो । केटी पक्षले दुई वर्ष छुट्याउने सर्त राखे पनि केटाकेटी नमानेपछि मंसिर १५ देखि एकैसाथ बस्दै आएका थिए । ‘केटीले केटा छोड्नु परे झुण्डिन्छु भनेपछि सँगै राखिएको हो’ राजनका बाबु धनकुमारले भने, ‘विवाहलाई आफ्नो परम्पराअनुसार वैधानिकता दिन खोज्दा लफडा पर्यो ।’
केटाकेटीसँगै बस्न चाहे पनि केटीका काका पर्ने गोपाल घिमिरेसहितले केटा पक्षलाई छुट्याउन दबाब दिंदै आएको केटी पक्षले बताए । ‘उनले केटाकेटीलाई अलग नगरे राम्रो नहुने धम्की पटकपटक दिएका छन्’, दलित जातीय मुक्ति समाजका अध्यक्ष लक्ष्मी सुनारले भने, ‘ब्राम्हण र दलितबीच भएको अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्नुको बदला अमान्य गराउन प्रहरी लागेको छ ।’
नेपालमा विहे गर्नका लागि केटीको १८ र केटाको २० वर्ष उमेर पुग्नुपर्ने कानूनी प्रावधान छ ।
– RSS