‘हिन्दु राष्ट्र कायम गरौं’मूल नाराकासाथ राप्रपा नेपालले राम-जानकी विवाह महोत्सव(सोमवार)देखि राष्ट्रव्यापी रथ यात्रा सुरु

‘हिन्दु राष्ट्र कायम गरौं ‘ मूल नारासाथ राप्रपा नेपालले राम-जानकी विवाह महोत्सव(सोमवार)देखि राष्ट्रव्यापी रथ यात्रा सुरु गर्ने जनाएको छ । विवाह महोत्सवको पूर्व संध्यामा आइतबार जानकी मन्दिर प्राङ्गणमै अवस्थित लक्ष्मण मन्दिरमा रथ पूजा तथा लक्ष्य होम गरी राप्रपा नेपालका अध्यक्ष कमल थापा ले रथ यात्राको उद्घोष गरेका थिए ।



थापाले मुलुकलाई सर्वधर्म सद्भाव तथा धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने मांग गरेका थिए । उनले प्रमुख चार राजनीतिक दलसंगै राष्ट्रपतिले पनि निर्वाचन नचाहेको आरोप लगाए । राष्ट्रपति डा.रामवरण यादव चार दलको निर्णयलाई अनुमोदन गर्दै आएकोप्रति रोश प्रकट गर्दै उनले यो टिप्पणी गरेका थिए ।



पुस १५ गतेसम्म राजनीतिक दलहरुबीच सहमति हुन नसक्ने दावी गर्दै थापाले चार दलको अनुरोधमा पटक-पटक म्याद थपेर राष्ट्रपतिले उनीहरुलाई सहयोग गरी रहेको बताए । थापाले वैशाखमा समेत  निर्वाचन हुन नसक्ने दावी गरे ।



राप्रपा नेपालको रथ यात्रा यद्यपि सोमबार १२बजेदेखि विधिवत सुरु हुने छ । थापाले आइतबार स्थानीय जानकी मन्दिर, राम मन्दिर, शिव मन्दिरको दर्शन गरी नगर भरी रथ प्रदर्शन गरेका थिए । 



सोमबार मध्यान्ह १२ बजे जानकी मन्दिरबाट सुरु हुने रथ यात्रा राममन्दिर हुँदै महोत्तरीको जलेश्वरनाथ, सर्लाहीको बैलबास, रौतहटको चन्द्र निगाहपुर, बाराको गढीमाई, हेटौंडा, चितवनको देवघर, लुम्बिनी, कास्किको विन्ध्वासिनि सहित ६ प्रमुख धार्मिक स्थल पुगी पुस १६ गते काठमाडौंको पशुपतिनाथ मन्दिर पुगेर सम्पन्न हुने थापाले जानकारी दिए ।



रथ यात्रा १८ जिल्लामा गरिने र यसको दूरी १ हजार किलोमीटर हुने जानकारी दिइएको थियो । रथमा रामजानकी, शिव पार्वतीसहित विभिन्न हिन्दु देवीदेवताहरुको को प्रतिमा राखिएको छ । यात्रामा राप्रपा नेपाल  अध्यक्ष थापा, कालिबाबा लगायतका व्यक्तिहरुको सहभागिता रहने छ ।