गौशाला – दुई दिनदेखि एक्कासी बढेको जाडोका कारण महोत्तरीको जनजीवन प्र्रभावित भएको छ। जाडोकै कारण दुई जनाको ज्यानसमेत गएको छ।
जिल्लाको मटिहानी-९ मा एक जना मागी खाने नाम नखुलेका अन्दाजी वर्ष ७५ को वृद्धको मृत्यु भएको छ। त्यसैगरी सदरमुकाम जलेश्वर-१ मा मामा घर आइबसेका भारत सितामढी निवासी रामबाबु साहको ७ वर्षीय छोरा जीवन साहको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बाक्लो कुहिरो, हुस्सु र चिसो हावाले गर्दा विगत दुई दिनदेखि महोत्तरीको यातायात, कार्यालय, बजार, कलकारखाना र शिक्षण संस्था समेत प्रभावित भएको छ। चिसोका कारण जिल्लाका तरकारी र तेलहन बालीसमेत कुहिन थालेको स्थानीय किसानहरुले बताएका छन्।
चिसोकै कारण अहिले जिल्लाका स्वास्थ्य संस्थाहरुमा आउने बिरामीको सङ्ख्यामा पनि अप्रत्यासित रुपमा वृद्धि भएको देखिएको छ। विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरु चिसोबाट बढी प्रभावित भएको चिकित्सकहरुले बताएका छन्।
– रासस