सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा. रामबरण यादवले पाँचौ पटक म्याद थप गर्नु भएको छ । प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको आग्रहमा राष्ट्रपति यादवले थप पाँच दिन अर्थात पुस ७ गतेसम्मको समय दिनु भएको हो ।
पटक-पटक गरी चार पटक राष्ट्रपतिले दिएको समय त्यतिकै गुजारेका दलहरुले मंगलवार विहान शीतल निवास पुगेर सहमतिका लागि थप तीन देखि पाँच दिनको समयको समय दिन आग्रह गरेका थिए । यसअघि राष्ट्रपतिले मंसिर ८, मंसिर १४, मंसिर २१ र मंसिर २८ गते दलहरुलाई चार पटक सहमतिका लागि समय दिनु भएको थियो ।
सहमतिका लागि राष्ट्रपतिले पछिल्लो पटक दिएको ६ दिनको समय पनि व्यर्थै गुज्रेपछि राष्ट्रपतिलाई पुनः आग्रह गर्न दलहरु शीतल निवास पुगेका थिए । प्रमुख दलका नेताहरुले अहिलेसम्म भएका सहमतिको प्रयासका बारेमा राष्ट्रपतिलाई जानकारी गराउँदै समय थप गर्न माग गरेका थिए । बैठकपछि एमाले अध्यक्ष खनालले दलहरुबीच सहमतिको प्रयास भइरहेकाले केही समय आवश्यक परेको भन्दै सो समय प्रदान गर्न राष्ट्रपतिलाई आग्रह गरेको जानकारी दिनुभयो ।
त्यस्तै मधेशी मोर्चाका संयोजक गच्छादारले आफुहरुले अनौपचारिक छलफल गरिरहेको भन्दै फेरि पाँच दिनको समय माग गरेको जानकारी दिनुभयो ।
प्रमुख दलका शीर्ष नेताहरुको कुरा सुनेर राष्ट्रपति यादबले भने चाँडो सहमति जुटाउन आग्रह गर्नुभएको थियो । राष्ट्रपतिसँग छलफल गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल तथा मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारको सहभागीता रहेको थियो ।