पाकिस्तानको कराँची शहरमा पोलियो खोप अभियानमा कार्यरत ४ जना पाकिस्तानी महिला कर्मचारीको गोली हत्या गरिएको छ । युनिसेफले पाकिस्तानका विभिन्न क्षेत्रमा पोलियो विरुद्ध गरेको ३ दिने खोप अभियान कै क्रममा शहरका विभिन्न ३ स्थानमा उनीहरु मारिएको बताइएको छ ।
हत्याको जिम्मा कसैले नलिए पनि तालिवानले आफुहरु पोलियो अभियानविरुद्ध रहेको स्पष्ट सन्देश यसअघि नै दिइसकेको थियो । उनीहरुले गैरसरकारी संस्थाहरु यस्ता कार्यको आडमा जासुसीमा लाग्ने गरेको आरोप लगाएका छन् ।
पेशावरमा पनि महिला स्वास्थ्यकर्मी माथि बन्दुकधारीले चलाएको गोली लागि एक जना किशोरी घाईते भएकी छन् । यसैबीच पाकिस्तान सरकारले स्वास्थ्यकर्मीमाथिको आक्रमण लगत्तै पोलियो विरुद्धको अभियान स्थगित गरेको छ ।