दक्षिण कोरियामा भएको राष्ट्रपति पदको चुनावमा पहिलो पटक महिला राष्ट्रपति

दक्षिण कोरियामा भएको राष्ट्रपति पदको चुनावमा पहिलो पटक महिला राष्ट्रपति चुनिएका छन् । हिजो भएको चुनावबाट दक्षिण कोरियाले पहिलो महिला राष्ट्रपतिका रुपमा सत्तासिन साईनुरी पार्टीकी पार्क गेयुन हायलाई पाएको हो । पार्क खसेको मतको ५० दशमलव १ प्रतिशत भोटका साथ विजयी हुनुभएको छ । पार्कले चुनावी मैदानमा रहेका विपक्षी डेमोक्रेटिक युनाईटेड पार्टीका मुन जे ईनलाई हराउनुभएको हो । पार्क दक्षिण कोरियाका निरंकुश पूर्व सैन्य शासक पार्क चुङ ही की छोरी हुन् । निर्वाचनका क्रममा पार्कले आफ्नो बाबुले चलाएको निरंकुश शासनप्रति जनतासँग माफी माग्नुभएको थियो । पराजीत विपक्षी उम्मेदवार मुन जे भने उत्तर कोरियाली शरणार्थीका सन्तान हुन् ।

पार्कले आफ्नो जीतले दक्षिण कोरियाको अर्थ व्यवस्थामा सुधार आउने दावी गर्नुभएको छ । पछिल्ला दिनमा दक्षिण कोरिया खराब आर्थिक अवस्थासँग जुधिरहेको छ । ६० वर्षीया पार्कलाई निरंकुश शासक आफ्ना बाबुका कारण बिग्रेको छवी सुधार्नु मूख्य चुनौति हुने खबरहरुले उल्लेख गरेका छन् ।

 

 





 

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चुन्नका लागि मतदान

 

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चुन्नका लागि मतदान भएको छ । चुनावी मैदानमा सत्तासिन साईनुरी पार्टीकी पार्क ग्युन हेई र विपक्षी डेमोक्रेटिक युनाईटेड पार्टीका मुन जे ईनबीच मुख्य प्रतिष्पर्धा गरेका छन।

सत्ताधारी पार्टीकी उम्मेदवार ग्युन हेई मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने दौडमा छिन् । विजेताले दक्षिण कोरियाको सर्वोच्च पदमा वर्तमान राष्ट्रपति लि म्युङ वाकको ठाउँ लिनेछन् ।


गिर्दो अर्थतन्त्र र छिमेकी मुलुक उत्तर कोरियाको रकेट प्रक्षेपणपछि बढ्दो क्षेत्रीय तनावका बीच दक्षिण कोरियाले नयाँ राष्ट्रपति छान्न लागेको हो ।


यसपटक चुनावी दौडमा रहेकी ग्युन हेई दक्षिण कोरियाका शक्तिशाली पूर्व सैन्य शासक पार्क चुङ ही की छोरी हुन् ।


यसैगरी विपक्षी उम्मेदवार मुन जे उत्तर कोरियाली शरणार्थीका सन्तान हुन् ।

 

– एजेन्सी ।