काठमाडौँ उपत्यकासहित देशभर अत्यधिक चिसो, जनजीवन बढी प्रभावित

काठमाडौं – काठमाडौँ उपत्यकासहित देशभर आज अत्यधिक चिसो बढेको छ। चिसोका कारण उपत्यका र तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ । उपत्यकामा हुस्सु लाग्न सुरु भएको छ। बिहान कलेज जाने विद्यार्थी र तरकारी व्यापारी यसबाट बढी प्रभावित भएका छन्।


 
आजबाट उपत्यकामा हुस्सु लाग्न सुरु भएको र उपत्यकासहित देशभर चिसो बढेको मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।


उनका अनुसार उपत्यकामा एकसातासम्म हुस्सु लाग्ने र त्यसपछि पानी पर्न सक्छ। तराईमा तुँवालो र हुस्सु लम्बिने भएकाले चिसो अझै बढ्नेछ।


मौसमविद् श्रेष्ठले उपत्यकामा बिहान हुस्सु लागेर चिसो बढेपनि दिउँसो घाम लागेको बताए ।


केही दिनअघि देशको पश्चिमी भेगमा परेको पानीका कारण उपत्यकासहित पहाडी र तराई क्षेत्रमा हुस्सु लाग्न सुरु भएको बताइएको छ।


काठमाडौँ उपत्यकामा आजको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९.२१ डिग्री सेल्सियस रह्यो। रासस