चितवनको माडीमा आतंक मच्चाउने धु्रवे नाम गरेको हात्ती मार्ने निकुञ्ज प्रसासन र सेनाको टोलीको प्रयास अझै सफल हुन सकेको छैन । धु्रवेलाई मार्नका लागी नेपाली सेना र प्राविधिकको टोली खटिरहेको छ ।
निरन्तर रुपमा निगरानी गरिरहेपनि धु्रवे निकै बाठो भएकाले गोली हानेर मार्ने प्रयास सफल हुन नसकेको निकुञ्ज प्रसासनले जनाएको छ । जंगलमा झाडी र ठुला रुख भएकाले हात्ती देख्न मुस्किल भएको निकुञ्जका रेञ्जर विष्णु थपलियाले जानकारी दिनु भयो । सो हात्तीलाई गोली लागी घाईते भएको भन्ने हल्लालाई निकुञ्जले भने पुष्टी गरेको छैन।
यसैबीच धनजनको क्षती पुऱ्याउने हात्ती मार्नु पर्ने मुख्य माग राखेर आन्दोलित वनेका माडीवासीले आज भरतपुरमा सर्वपक्षिय छलफल गर्दैछन् । हिजो भरतपुरमा भएको सर्वपक्षिय वैठकमा मृतकका परिवारलाई ६ लाख दिने र परिवारका एक जना सदस्यलाई रोजगारी दिने सहमती गरेपछि सो सहमतीमा असहमती जनाएका माडीवासीले आज सदरमुकामै गएर छलफल गर्न लागेका हुन् ।
उनीहरुले आतंक मच्चाउने हात्ती तत्काल मार्नु पर्ने,मृतक परिवारलाई २० लाख दिनु पर्ने ,माडी जाने निकुञ्ज भित्रका सडक ३० मिटर चौडा गर्नु पर्ने लगायतमा माग राखेका छन् । माडीमा गत शनिवार राती गर्दी ९ द्रोपतीनगरका ६५ वर्षिय वुद्धिराम वोट र उनकी श्रीमती जरियाको हात्तीले आक्रमण गरी मारेपछि माडीवासी आन्दोलित भएका छन् ।