प्रधानमन्त्री भट्टराईद्धारा आफूलाई फिर्ता बोलाउने आलोकाँचो निर्णय पार्टीले गर्न नसक्ने दाबी

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई फिर्ता बोलाउने आलोकाँचो निर्णय पार्टीले गर्न नसक्ने दाबी गरेका छन् ।

एमाओवादी उपाध्यक्षसमेत रहेका भट्टराईलाई फिर्ता बोलाउनेबारे पार्टीभित्र बहस भइरहेकाबेला यस्तो टिप्पणी सार्वजनिक भएको हो । ‘पार्टीले मलाई फिर्ता बोलाउने आलोकाँचो निर्णय गर्ने सम्भावना म देख्दिन,’ बालुवाटारमा बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले बाहिर चर्चामा आएजस्तो आफू र अध्यक्ष पुष्पकमल दाहालबीच कुनै मतभेद नभएको दाबी गरे । यद्यपी उनले एमाओवादीभित्र एकता र संघर्ष चलिरहने उल्लेख गरे ।

आफू शीर्ष नेताहरुबीच भएका एउटा बाहेक सवै वार्तामा उपस्थित रहेको स्मरण गर्दै प्रधानमन्त्रीले ठोस सहमति नभएको दाबी गरे । ‘सहमति भएको भन्ने चर्चा गलत हो,’ उनले भने, ‘म एउटा बाहेक सवै वार्तामा सहभागी छु ।’

प्रधानमन्त्रीले संविधानसभा चुनावको सुनिश्चितता आफ्नो सफलता/असफलतासँग जोडिएकाले तत्काल राजीनामा नदिने अडान दोहोर्‍याए । ‘पुसभित्र निर्वाचन प्रक्रिया सम्पन्न गरेर सहमति जुटाएर वैशाखमा निर्वाचन गर्नुपर्छ,’ उनले भने, ‘निर्वाचन सुनिश्चित गर्ने कार्यभार मेरो मेरो सफलता असफलतासँग जोडिएको छ ।’

प्रधानमन्त्री भट्टराईले आफूलाई सहमतिको बाधक भनेर चित्रण गरिएकोमा चित्त दुखेको बताए । ‘मंसिर ७ गते राजीनामा दिन लाग्दा गठबन्धन र मोर्चाले रोकेको हो,’ उनले भने, ‘अहिले आएर मलाई सहमतिको बाधक भन्ने कुराले चिन्तित बनाएको छ ।’

आफूले बिना सहमति राजीनामा दिंदा सहमति र वैधानिकताको टेको ढल्ने बताउँदै प्रधानमन्त्रीले स्पष्ट पारे, ‘सनक र आवेगमा राजीनामा दिने कुरै आउँदैन ।’

 गंगा बीसी, ekantipur