ध्रुवे सौराहामा झुल्किनु अघि २०५० तिर हात्ती प्रजनन् केन्द्र खोरसोरका पोथी हात्तीसँग आकर्षित रोमियो हात्तीका एकदर्जन प्रेमिका थिए । चितवन निकुञ्ज विचरणको क्रममा ध्रुवेले पनि एकदर्जन बढी प्रेमिका बनाए । रोमियोले आफ्नी प्रेमिकासँग बिताएको १४ वर्षमा २४ सन्तान जन्माए ।
तर लामो समयसँगै बस्न नपाउँदा ध्रुवेका अझैपनि सन्तान हुन सकेन । उसकै उमेरको रोनाल्डो भने अहिले खोरसोरमा आफ्नो २३ औं सन्तान उत्पादन गर्न तत्पर छ ।खोरसोरमा रहेकी रोमियाका प्रेमिका प्रेरणाकलीबाट ४ वटा, शशीकलीबाट ३ वटा, सम्शेरकलीबाट ३ वटा, सितास्माकलीबाट ३ वटा, देवीकलीबाट जुम्ल्याहा रामलक्ष्मण सहित ३ वटा, कोमलकलीबाट २ वटा, कोशीकलीबाट ३ वटा र पूजाकलीबाट ३ वटा छोराछोरी जन्मे ।
रोमियोकै सन्तानहरुले अहिले चितवन राष्ट्रिनिकुञ्जको सुरक्षा गरिरहेका छन् । प्रेमिकासित भेट्न खोरसोर आएकै बेला २०६४ सालमा रोमियोको विद्युतिय तारमा करेन्ट सर्ट भएर निधन भयो ।
त्यसपछि उसकैपछि लागेर आउने रोनाल्डो हात्तीले प्रेमिकासँग बस्ने मौका पायो । रोमियो जवान भैसक्दा रोनाल्डो केही सानो थियो । तर रोमियोसँगै सौराहा चहार्न पल्केको रोनाल्डोले आँखा छलेर पोथी हात्तीसँग बस्न भने सिकिसकेको थियो । रोमियो अगाडि हुँदा त उसले प्रेमिकाको दर्शन मुस्किलैले पाउँथ्यो । किनकी खोरसोरको तारबारसम्म सँगै आएपनि प्रेमिकासँग भेट्ने पहिलो अधिकार रोमियोले नै लिन्थ्यो । रोनाल्डोलाई उसले धपाएर जंगलै पठाइदिन्थ्यो ।
रोमियोको मृत्युपछि खोरसोरको हात्तीप्रजनन् धानेको रोनाल्डोको पनि २२ जना सन्तान भैसकेको छ । सितास्माकली,प्रेमाकली,पोथीकली,शशीकली,लक्ष्मीकली लगायतका प्रेमिकासँग विशेष नजिक छ रोनाल्डो ।
रोमियो नमर्दै जब ध्रुवे हात्ती सौराहामा २०५९ सालमा छिर्यो । तब रोमियो र रोनाल्डोसँग उसको पटक पटक लडाई पर्यो ।