भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंह र कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीले नयाँ दिल्लीमा भएको सामूहिक बलात्कारको घटनामा संलग्न दोषीहरुलाई कडा कारबाही गरिने आश्वासन दिएका छन् । कांग्रेस पार्टी स्थापना दिवसको अवसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनीहरुले घटनाका दोषीहरुलाई न्यायको कठघरामा उभ्याउने आश्वासन दिए ।
साथै पीडित परिवार लगायत प्रदर्शनकारीहरुलाई धैर्यधारण गर्न पनि प्रधानमन्त्री सिंह र कांग्रेस आई अध्यक्ष गान्धीले अपील गरेका छन् ।
उता, भारतमा सन्तोषजनक उपचार हुन नसकेपछि सिंगापुर लगिएकी बलात्कृत किशोरीको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको चिकित्सकहरुले जनाएका छन् । सिंगापुरको एलिजाबेथ अस्पतालमा उपचार गराईरहेकी किशोरीलाई मष्तिस्कघात समेत भएकोले उनको स्थिति नाजुक रहेको जनाइएको छ ।
यता, बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने मागसहित प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले आज पनि नयाँ दिल्लीमा प्रदर्शन जारी राखेका छन् । सामूहिक बलात्कार घटनाको विरोधमा मुम्बई, कोलकाता लगायतका शहरहरुमा पनि प्रदर्शन भएको छ भने ख्यातिप्राप्त कलाकार, गायक तथा स्रष्टाहरुले समेत दोषीलाई सख्त कारबाहीको माग गरेका छन् ।
– एजेन्सी