काठमाडौँ – गृह मन्त्रालयको अध्यागमन विभाग अन्तर्गत रहेका कर्मचारीहरुले विदेशबाट काम गरी फर्किएकी भोजपुर घर भएकी एक महिलाको पैसा लुटी बलात्कारसमेत गरेको खबर पत्रपत्रिकामा सार्वजनिक हुँदा पनि चासो नदेखाएको भन्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले महिला सशक्तिकरण समन्वय समितिको सल्लाहकार पदबाट राजीनामा दिएकी छिन्।
मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको महिला सशक्तिकरण समन्वय समितिका संयोजक रहेका मुख्य सचिवलाई समेत बोधार्थ पठाइएको प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा देउवाले नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरेकी हुन्।
‘महिलाविरुद्ध निन्दनीय हिंसा भई दण्डहिनताको पराकाष्ठा हुँदा समेत समितिको तर्फबाट गम्भीर ध्यानाकर्षण नहुनुले नैतिकताको आधारमा समितिमा बसिरहन उचित नठानेको’ भन्दै देउवाले पत्रमा आजैका मितिबाट राजीनामा दिएको उल्लेख छ।
समिति विभिन्न राजनैतिक दलका महिला प्रतिनिधि र महिला मानव अधिकारकर्मी समेतको प्रतिनिधित्व रहेको एक सल्लाहकार समूह हो। यसको मुख्य जिम्मेवारी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनका सन्दर्भमा विशेषज्ञ सेवा, आवश्यक सल्लाह तथा सुझाव प्रदान गर्नु हो।
बालुवाटारमा विरोध
यसैबीच, सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले बलात्कारको विरोधमा आज बिहान नौ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई धर्ना बसिरहेका छन्। उनीहरुले प्रधानमन्त्रीलाई विरोध पत्रहरु पनि बुझाएका छन्।
– RSS