राष्ट्रिय जनमोर्चाले युद्ध अपराधको आरोपमा नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतले पक्राउ परेकोमा स्वागत गरेको छ ।
सरकार र अधिकांश राजनीतिक दलले लामालाई पक्राउ गर्ने बेलायती कदम सर्वभौम मुलुकमाथिको हस्तक्षेप भन्दै विरोध गरिरहेका बेला चित्रबहादुर केसीले भने स्वागत गर्नु भएको हो । द्वन्द्वकालमा राज्य र माओवादी पक्षबाट सर्वसाधारण जनतामाथि ज्यादतीपूर्ण अपराध गर्ने र मानवअधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्नुको साटो आममाफी र पदोन्नती हुने गरेको भन्दै केसीद्धारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ- हामीले कर्णेल लामाको गिरफ्तारीलाई उचित ठान्छौँ ।
मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरूलाई आफूले कारबाही नगरी वा कारबाही गर्ने तदरुकता नदेखाएको अवस्थामा तत्सम्बन्धी पर्याप्त कानुन भएको मुलुकले कारवाही गर्न पाउने गरी सुरुमा नै नेपालले विभिन्न अभिसन्धिमार्फत् अभिसन्धिमा हस्ताक्षर गर्ने अन्य पक्ष राष्ट्रहरुलाई इजाजत दिइसकेको वा यो मुद्दाको अन्तर्राष्ट्रिय क्षेत्राधिकारलाई स्वीकार गरिसकेको हुनाले यो गिरफ्तारीलाई अन्यायपूर्ण वा गैरकानुनी वा यसबाट देशको सार्वभौमिकता र अखण्डतामाथि हस्तक्षेप भएको भन्न मिल्दैन ।