माधव अर्याल पाल्पा र कृष्ण खनाल बुटवल
६ दिनदेखि बेपत्ता तानसेन नगरपालिका, ११ बाख्खोर, प्रभासका २५ वर्षीय सुदीप कोइरालाको शव सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी नजिकै भीरमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता युवाको खोजी कार्य र अनुसन्धान गर्दै जाँदा आफ्नै भाई २३ वर्षीय सुजन कोइराला र अर्का सहयोगी २८ वर्षीय कालु चन्दले हत्या गरेको खुलासा भएको हो ।
पुसको २३ गते अपहरणमा परेको भन्दै प्रहरीमा खोजी गरिदिन निवेदन परेको थियो । तर, अनुसन्धानले भने घटनाको अर्कै मोड लिएको प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले जानकारी गराए ।
प्रहरीले पक्राउ गरेका दैलेख चौराह गाविस, २ का कालु चन्दलाई ‘कन्ट्रयाक्ट किलर’ का रुपमा हायर गरेर हत्यापछि सिद्धार्थ राजमार्गको केराबारी नजिकै सडकबाट करिव ४ सय मिटर तल भिरबाट फालेको भाई सुजनले प्रहरीसमक्ष स्वीकारेका छन् ।
मृतकका बाबुका हरिदेव कोइरालाका अनुसार छोरा मृतक सुदीप त्यस दिन साँझ सुतिरहेको अवस्थामा केही युवाहरुले बोलाउन आएको र आफूले साथीहरु होलान भनी कुनै चासो नदिएको बताएका थिए ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएका मृतक कोइरालाका भाइ सुजन कोइरालाको वयानमा आफूले दाइको हत्या गरी फालेको खुलेको हो ।
प्रहरीका अनुसार घरमै हत्या गरेर सुत्ने तन्ना, बिस्ताराले पोको पारेर बोरामा राखेर भिरबाट सोहीदिन राति खसालिएको थियो । प्रहरीले हत्या आरोपमा सुजन कोइरालाका साथै चन्द र कार चालक बारा, सपही, ८ का ३२ बषिर्य त्रेता चौधरीलाई पक्राउ गरेर आइतबार सार्वजनिक समेत गरेको छ ।
प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले हत्या किन र केका लागि भयो ? भन्ने ठ्याक्कै एकिन नभएपनि घरायशी झैझगडा र भाई भाई बीचको रकम लेनदेन नै मुख्य कारण हुन सक्ने बताए । अन्य कुरा चाँडै नै खुल्न आउने उनले बताए ।