राष्ट्रपति द्वारा दलहरुको त्रुटीकै कारण सार्वभौम सत्ता संविधान सभा विघटन भएको स्मरण गर्दै परिवर्तन संस्थागत गर्न राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको भनाइ ब्यत्त

– कमला बस्नेत र घनश्याम गौतम 
राष्ट्रपति रामबरण यादवले दलहरुको त्रुटीकै कारण सार्वभौम सत्ता संविधान सभा विदा भएको स्मरण गर्दै परिवर्तन संस्थागत गर्नका लागि राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको बताएका छन् ।
माघे संक्रान्ति मेलामा चार धाम मध्येको एक धाम रुरु क्षेत्रमा कालीगण्डकी स्नान गर्न सोमबार रिडी आएका राष्ट्रपति यादबले २०६२/०६३ को परिवर्तन संस्थागत गर्नका लागि दलहरु मिल्नुको विकल्प नरहेको बताएका हुन् । उनले त्यसका लागि दलहरु मिलेर निर्वाचनमा जानु जरुरी रहेको समेत बताए ।
दलहरुकै त्रुटिले संविधान सभा विदा भएर राष्ट्रपतिको संस्था मात्र रहेको यादवले बताए ।
‘हाम्रै त्रुटीले सार्वभौमसत्ता संविधान सभा विदा भयो’, उनले भने, ‘राष्ट्रपतिको संस्था छ, तर संविधानमा अवरोध छ त्यसको अवरोध फुकाउनका लागि सबै पार्टी राष्ट्रको हितमा लाग्नु र सबै मिलेर परिवर्तन जोगाउनु हाम्रो दायित्व छ ।’ सबै पार्टी एकै ठाउँमा आएर राष्ट्रको सर्बोपरी हितमा लाग्नु जरुरी रहेको र त्यसका लागि जनतामा जानु नै उत्तम रहेको उनले सुझाव दिए ।
देशको हितका लागि सबैसंग समन्वय गरेर निकास निकाल्ने आपmनो भुमिका भएको भन्दै राष्ट्रपति यादवले त्यसमा आफु प्रतिबद्ध भएको बताए । ‘मैले देश र राजनीति बुझेको छु’, मेलाको उद्घाटन गर्दै राष्ट्रपति यादवले भने, ‘संविधान भित्र रहेर देशको सर्बोत्तम हितका लागि सबैसंग मिलेर निकाल्ने मेरो कर्तब्य छ, त्यसमा म प्रतिबद्ध छु ।’
हेलिकप्टरबाट १ बजे कालीगण्डकी किनारमा ओर्लिएका राष्ट्रपति यादवले २००७ र २०४६ सालको परिवर्तनलाई राम्रोसंग व्यवस्थापन गर्न नसक्दा जनताले २०६२/०६३ मा अर्को आन्दोलन गरेको स्मरण गरे । राष्ट्रपति यादवले कालीगण्डकी स्नान गरी मन पवित्र गरेर देशको भलो हुने गरी राष्ट्रलाई निकास दिन आफुले संकल्प गरेको बताए । ‘देशको इतिहास, भुगोल, राजनीतिक उचार चढाव मनन गरेर मैले संकल्प गरेको छु’, उनले भने, ‘देशको मुल कानून बनोस, देश संस्थागत बनोस, सबैको भलो होस, सबै मिलेर बसौं ।’
रुरुको धार्मिक क्षेत्रको दर्शन एवं भ्रमणपछि राष्ट्रपति यादवले रुरु क्षेत्र पवित्र धाम र सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको बताए । यस क्षेत्रमा जलाशय निर्माण, कृषि उत्पादन बन र वातावरण संरक्षणका काम गरेमा धार्मिक पर्यटकीय विकास सम्भव हुने राष्ट्रपतिले बताए । ‘रुरु क्षेत्र पवित्र धाम हो’, राष्ट्रपति यादवले भने, ‘सांस्कृतिक सम्पदाले भरिपूर्ण छ र यहाँका मानिस परिश्रमी पनि छन्, त्यसैले यसको विकास पनि सम्भव छ ।’
राष्ट्रपति यादवसंगै सरकारका मुख्य सचिव लिलामणि पौडेल, निजी सचिव ललित बस्नेत, छोरी अनिता यादव, पूर्व मन्त्री प्रदिप ज्ञवाली लगायतको टोली रिडीमा आएको थियो । मेलाकै अवसरमा राष्ट्रपति यादवले जिल्लाकै उत्कृष्ट शिल्पकार मानबहादुर चुंदारालाई दोसल्ला एवं कदरपत्रले सम्मान गरेका थिए । यादवले कालीगण्डकी स्नानसंगै श्रृषिकेश मन्दिरमा पुजाआजा गरी देबदत्त पार्कको अवलोकन एवं संस्कृत पढाई हुने रुरु संस्कृत बिद्यापिठका बारेमा समेत जानकारी लिएका थिए ।