नेकपा-माओवादीको राजधानीमा जारी महाधिवेशनमा अध्यक्ष मोहन बैद्यले ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गरेका छन् । नयाँ नेतृत्व चयन गरी सोमबार सकिने भनिएको महाधिवेशन विवादका कारण लम्बिएको हो ।
हाल पार्टीको केन्द्रीय समितिमा ४४ जना सदस्य छन् । केन्द्रीय संरचना निर्धारण गर्न आइतबार दिनभर केन्द्रीय पदाधिकारीको बैठक बसेको थियो । बैद्यले ४३ जना केन्द्रीय सदस्यको नाम अहिले नै निक्र्यौल गर्ने र ८ जना सदस्य पछि थप्ने गरी ५१ सदस्यीय संरचना प्रस्ताव गरेका हुन् । केन्द्रीय पदाधिकारी भने यथावत् नै राखिने स्रोतले बताएको छ । पुराना केन्द्रीय सदस्यमध्ये कुमार दाहाल, कृष्णध्वज खड्का र रेखा शर्मालाई हटाइएको छ ।
महाधिवेशनमा सहभागीहरुले प्रत्येक राज्य समितिबाट केन्द्रीय सदस्यमा प्रतिनिधि हुनुपर्ने माग गर्दै तीनसय भन्दा बढीको नाम केन्द्रीय सदस्यको रुपमा प्रस्ताव गरेका थिए । विवाद लम्बिने छाँटकाँट देखेपछि अध्यक्ष बैद्यले पुरानै संरचना कायम रहने गरी ५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका हुन् ।