सत्तारुढ एकीकृत नेकपा माओवादी र विपक्षी दलहरु मुठभेडमा उत्रिएका छन् । सत्तारुढ र विपक्षी दलको ढुङ्गा हानाहानले आज दैलेख बजार दिनभर तनावग्रस्त रह्यो । विपक्षी कार्यकर्ताले दुवै माओवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् भनें माओवादी कार्यकर्ताले स्थानीय एक दैनिक पत्रिकाको कार्यालयमा तोडफोड गरे ।
विपक्षी दलले सरकार विरुद्ध दैलेखबाट आन्दोलन थालेपछि त्यसको जवाफ दिन सत्तारुढ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षद्वय प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दैलेख पुगेपछि स्थिति थप भड्किएको छ ।
एकीकृत माओवादीले आयोजना गरेको सभालाई सम्वोधन गर्न गएका माओवादीका शीर्ष नेताले बोल्ने क्रममा विपक्षी दलका कार्यकर्ताले ढुंगा हानेपछि झडप भएको थियो । झडपमा १२ जना घाईते भएको प्रहरीले जनाएको छ ।
झडप पछि केहिबेर सभा समेत बिथोलिएको थियो ।
त्यसअघि दैलेखको काडाँचौरबाट निस्केको माओवादीको जुलुस र देवकोटा चोकबाट निस्केको विपक्षी दलको जुलुश गणेशथान पुग्ने बेला आमने सामने भएपछि झडप भएको थियो । त्यसपछि पनि पटक पटक तनावका घटना भईरहे ।
सभालाई सम्वोधन गर्न हेलिकप्टर चढेर गएका माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री श्रेष्ठलाई नेपाली सेनाको रणसादुल गणबाट कार्यक्रम स्थलसम्म पुर्याउन प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पार्नु परेको थियो ।
पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तको बयान रोक्न सरकारले निर्देशन दिएपछि त्यसको बिरोधमा उत्रिएका पत्रकार र स्थानीय बासिन्दाको आन्दोलनमा बिपक्षी दलहरु मिसिएपछि आन्दोलन हिंश्रक बन्दै गएको हो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले दैलेखमा गुण्डाहरुको प्रदर्शनले आफ्नो पार्टीलाई एक बनाएको बताउनुभएको छ । दैलेखमा माओवादीको पहिलो जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले विदेशी डलर खाएर माओवादी बिरुद्ध आन्दोलन गरिएको भन्दै यसको जवाफ दिने चेतावनी समेत दिनुभयो ।
यसैबीच विपक्षी दलले सरकारले जनविरोधी, राष्ट्र विरोधी, तानाशाही एवं सर्वसत्तावादी क्रियाकलाप गरेको आरोप लगाउँदै काठमाडौं उपत्यका केन्द्रीत आन्दोलन सार्वजनिक गरेका छन् ।
यस्तै अन्य जिल्लामा पनि विपक्षी दलहरुले आनदोलनका कार्यक्रम सार्वजनिक गर्न थालेका छन् । इलाममा विपक्षीहरुले सरकार बिरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।