काठमाडौ – राष्ट्रपतिले यादवले राष्ट्रिय सहमति प्रक्रिया अलपत्र परिरहेका बेला राष्ट्रपति रामवरण यादवले एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई संवादको प्रक्रियाबाट छिटो निकास निकाल्न ध्यानाकर्षण गराएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग बिहीबार छुट्टाछुट्टै भेट गरी राष्ट्रपतिले यादवले संवाद प्रक्रियाबाट अघि बढ्न भनेका हुन् ।
सत्तारूढ र विपक्षी दलहरू संवाद छोडेर आन्दोलनतर्फ केन्दि्रत भएकोमा राष्ट्रपतिले चिन्ता गर्दै दलहरूलाई मुठभेडको दिशातिर नजान आग्रह गरे । ‘राजनीतिक संकटप्रति राष्ट्रपतिले चिन्ता जाहेर गर्नुभएको छ,’ भेटपछि कांग्रेस सभापति कोइरालाले भने, ‘छिटो सहमति होस् भन्ने उहाँको आग्रह छ ।’ राष्ट्रपति यादवले मंसिर ८ बाट आफैंले सुरु गरेको सहमतिको सरकार आह्वान गर्ने प्रक्रिया नवौं पटकसम्म लम्बिएपछि रोकेका थिए ।
उनले मौखिक रूपमा माघ दोस्रो साताभित्र सहमति गरेर आउन दलहरूलाई आग्रह गर्दै लिखित आह्वान गर्ने शृंखला रोकेका थिए । राष्ट्रपतिले सहमतिको सरकार आह्वान गर्ने प्रक्रिया रोकेपछि सत्तारूढ र विपक्षी दलहरूबीच एक पटक पनि औपचारिक रूपमा संवाद हुन सकेको छैन । दुवै पक्ष्ा आन्दोलन र आ-आफ्ना पार्टीका काममा व्यस्त भइरहेका बेला विपक्षी दलका नेतालाई बोलाई राष्ट्रिय सहमतिका लागि पहल गर्न भनेका हुन् ।