नयाँ दिल्ली – गणतन्त्र स्थापना भएको दिनको अवसरमा भारतले आज आफ्नो ६४ औं गणतन्त्र दिवस मनाएको छ ।
परेडमा भारतको सैन्य क्षमता र अरू सांस्कृतिक विविधता प्रस्तुत गरिएको छ । विशेष परेड समारोहमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक प्रमुख अतिथिको रूपमा सहभागी भएका छन।
गणतन्त्र दिवसका लागि भारतको राजधानी नयाँ दिल्लीसहित मुख्य सहरहरूको सुरक्षा व्यवस्था कडा पारिएको छ । नयाँ दिल्लीमा मात्रै २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सन्चार माध्यमहरूले जनाएका छन् । सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि समारोहस्थल आसपासमा एकसय ५० सीसीटीभी क्यामरा राखिएका छन् । २६ जनवरीकै दिन भारतमा संविधान जारी भएको थियो । सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समाजवादी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई भारतलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ ।
राजदूत जयन्तको शुभकामना
गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले पनि आज एक विज्ञप्ति जारी गर्दै भारत विश्वको सबैभन्दा विशाल र एक सदैव स्थिर लोकतान्त्रिक मुलुक भएको र अर्थतन्त्र लगातार बढ्दै गएकोले निर्धारण गरिएका लक्ष्यहरू प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।