इटहरी – कांग्रेस वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डा बाबुराम भट्टराई नेतृत्वको सरकारले नयाँ जनादेशका लागि हुने संविधानसभाको निर्वाचन गराउने कुनै हैसियत नै नभएको बताएका छन् ।
कांग्रेस हाँसपोसाले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले संवैधानिक निकायहरु खाली बनेको अवस्थामा यो सरकारले कसरी संविधानसभाको निर्वाचन गर्न सक्छ ? भनेर प्रश्नसमेत गरे ।
निर्वाचन आयोग खाली छ , अरु संवैधानिक निकायहरु धमाधम पदाधिकारीविहीन बनिरहेका छन् भन्दै नेता देउवाले सरकारका सबै निकाय खाली बनाएर मुलुकलाई अरु सङ्कटमा पारेर असफल राष्ट्र बनाउने यो सरकारलाई नेपाली जनताले एकछिन पनि राख्न नहुने जिकिरसमेत गरे ।
संविधान नै बनाउन नचाहने वर्तमान सरकारले नै संविधानसभा विघटन गरेर मुलुकलाई अन्योलग्रस्त बनाएको दाबी गर्दै उहाँले मुलुकमा सिर्जना गरिएको विद्यमान सङ्कट समाधानका लागि सम्पूर्ण राजनीतिक दल सहभागी रहेको राष्ट्रिय सहमतिको सरकार आवश्यक भएकोमा जोड दिए ।
राष्ट्रिय सहमतिको सरकारले मात्र संविधानसभाको निर्वाचन गर्न सक्ने ठोकुवा गर्दै नेता देउवाले त्यसैका लागि नेपाली काँग्रेससहित अन्य विपक्षी दलहरुले वर्तमान सरकारको बहिर्गमनका लागि आन्दोलन थालेको बताए ।
कार्यक्रममा नेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले माओवादीको बेइमानीपूर्ण छलकपटपूर्ण व्यवहारकै कारणले राजनीतिक दलहरुबीचमा सहमति बन्न नसकेको ठोकुवा गर्दै माओवादीले कसैसँग सहकार्यको हात बढाउन नचाहेको बताए ।
त्यसैगरी अर्का केन्द्रीय सदस्य मीनकुमार विश्वकर्माले माओवादीको नीति नै जनविद्रोह र आन्दोलन भएकाले यो सरकारले सुशासन, शान्ति र लोकतन्त्रलाई संस्थागत गर्न नदिने पक्षमा वातावरण बनाइरहेकाले पनि यो सरकार विस्थापन गर्नुपर्ने आवश्यकता सिर्जना भएको बताए ।
RSS