उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले निर्धारित समयभन्दा ६ महिनापछि सम्पत्ति विवरण बुझाएका छन्, त्यसमा पटक/पटक उपप्रधानसहित मन्त्री बनेका उनीसंग एक रुपैयाँ पनि नगद नरहेको उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा माघ ८ मा बुझाएको भनिएको सम्पत्ति विवरणमा उनले गोरखाको जौबारी-६ र ७ मा पैतृक सम्पत्तिबाट अंशवण्डाबापत प्राप्त गरेको केही जमिनबाहेक कत्ति पनि नगद नभएको उल्लेख गरेका हुन् ।
आफूसंग भएको बा ७ च ४३८५ नम्बरको ‘स्कर्पियो’ गाडी पनि नातेदार, मित्रहरु र पार्टीको सहयोगमा प्रयोग गरेको उनले उल्लेखन गरेका छन् । कुनै पनि बैंक, वित्तिय संस्था र सहकारीमा खाता नखोलेको र रकम पनि नभएको उनको दाबी छ । सुन, चाँदी, हिरा, जवाहरातजस्ता अचलसम्पत्तिसमेत आफूसंग नभएको र घर पनि नभएको श्रेष्ठको जनाएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले ११ माघमा पत्रकार सम्मेलनगरी उपप्रधानमन्त्री श्रेष्ठसहितका ७ मन्त्रीले सम्पत्ति विवरण नबुझाएको सार्वजनिक गरेपनि श्रेष्ठले भने ८ माघमै मन्त्रीपरिषद् कार्यालयमा विवरण बुझाएको दाबी गरेका छन् । विवरण फाईलमा श्रेष्ठले माघ ७ मा हस्ताक्षर गरेको र ८ माघमा प्रधानमन्त्री कार्यालयमा दर्ता भएको देखिन्छ ।
पार्टी उपाध्यक्षसमेत रहेका श्रेष्ठ झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । २०६८ भदौ ११ मा बाबुराम प्रधानमन्त्री बनेलगत्तैदेखि श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छन् । पछिल्लो समयमा उनले संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयकोसमेत जिम्मेवारी पाएका छन् ।
सतर्कता केन्द्रको ताकेतापछि अर्थमन्त्री वर्षमान पुन र शान्तिमन्त्री टोपबहादुर रायमाझीबाहेकका मन्त्रीले ढिलै भएपनि विवरण बुझाएका छन् । पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले माघ १७ मा बुझाएको विवरणमा आफूसंग मन्त्रीबापतको एभरेष्ट बैंकमा ५७ हजार रुपैयाँ बचत भएको उल्लेख गरे
का छन् । त्यसैगरी छोरा रबी सहीद भएपछि सरकारबाट पाएको चार लाख रुपैयाँसमेत ग्र्याण्ड बैंकमा बचत रहेको उल्लेख गरेका छन् ।
बोगटीले पैतृक सम्पत्तिबापत् एक तोला सुन र पार्टीबाट पाएको बा अ च ७४३० नम्बरको स्कर्पियोसमेत रहेको जनाएका छन् । नुवाकोटको तुप्चे-२ मा पैतृक सम्पत्तिबाट अशंबापत पाएको केही जमिनसमेत रहेको उनले उल्लेख गरेका छन् ।
विज्ञान, प्रविधि तथा वातावरणमन्त्री केशवमान शाक्यले माघ १४ मा विवरण बुझाएका छन् । त्यसमा उनले कामनपा १३ र ११ मा श्रमती लिला शाक्यको नाममा तीन/तीन तले पक्कि घर, कामनपा १७ मा ५ रोपनी र रुपन्देहीमा ११ कठ्ठा जमिन भएको उल्लेख गरेका छन् । उनले ३० तोला सुन र दुई सय तोलाबराबरको चाँदीका पूजा सामागि्र भएको उल्लेख गरेका छन् ।
यस्तै, वनमन्त्री यदुवंश झाले १८ माघमा बुझाएको सम्पत्ति विवरणमा २३ तोला सुन र ६ सय ग्राम चाँदी, किष्ट बैंकमा दुई लाख ६ हजार नगद, श्रमती सीतादेवीका नाममा सोही बैंकमा १४ लाख ७५ हजार (घरायसी आम्दानी र जग्गा विक्रि), छोरा प्रकाशका नाममा किष्ट बैंकमा १८ लाख, उनकै नाममा एभरेष्ट बैंकमा दुई लाख ५ हजार तीन सय, उनकै नाममा किष्ट बैंकमा तीन लाख, २०६८ सालमा २३ लाखमा किनेको बा ९ च ७७५ नम्बरको गाडी र तीन वटा मोटरसाईकल रहेको उल्लेख गरेका छन् ।
त्यस्तै जनकपुर नगरपालिकामा पक्कि घर र श्रीमतीका नाममा पैतृक सम्पत्ति रहेकोसमेत झाले उल्लेख गरेका छन् । सञ्चारमन्त्री राजकिशोर यादबले माघ १४ मा बुझाएको विवरणमा ७५ तोला सुन र एक किलो चाँदी, तीन लाख नगद घरमा, श्रीमती सरिताका नाममा विभिन्न बैंकमा १२ लाख, आमा नेपुरदेवीको नाममा सिरहामा दुईतले पक्कि घर, कलंकीमा घडेरी, एक मोटरसाईकल रहेको दाबी गरेका छन् ।
सार्वजनिक पद धारण गरेकाले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र परिवारका नामको सम्पत्तिको स्रोतसहितको विवरण बुझाउनुपर्ने नियम छ । थपिएको म्यादभित्र विवरण पेस नगर्ने सार्वजनिक पदधारण गरेका व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरी उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न सक्ने व्यवस्था छ ।