चुनावी सरकार बनाउन विपक्षीका तीन प्रस्ताव/दलहरुबीच हुने सहमति मान्य : प्रधानमन्त्री

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाउन एमाओवादीले विकल्प रोजेका बेला विपक्षी कांग्रेस-एमालेले तीन प्रस्ताव अघि सारेका छन् ।
दुवै पक्षबीच सहमति नभएपछि राति सवा ९ बजे बैठक बिना निष्कर्ष सकियो ।  शीतल निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा बसेको बैठकमा विपक्षी दलले राखेका प्रस्तावबारे छलफल भए पनि सहमति भएन । बैठकमा सहभागी एक नेताका अनुसार विपक्षी दलले सकभर राजनीतिक दलबाटै प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । ‘राजनीतिक दलबाट बनाउँदा कांग्रेस सभापति सुशील कोइरालालाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो अडान हो,’ ती नेताले भने ।
स्वतन्त्र व्यक्तिबाट प्रधानमन्त्री बनाउने भए दमननाथ ढुंगानालाई बनाउनुपर्ने दोस्रो प्रस्ताव विपक्षीको छ भने तेस्रो प्रस्ताव न्यायाधीशबाट बनाउँदा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा हुनुपर्ने छ । 
ती नेताका अनुसार प्रधानन्यायाधीश रेग्मीकै नाममा सहमति जुटाउने भए पहिले राजीनामा दिनुपर्ने सर्त विपक्षी दलको छ । ‘शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कसैलाई कार्यवाहक दिएर प्रधानमन्त्री बनाउन मिल्दैन,’ कांग्रेस-एमालेको तर्क छ ।
एमाओवादीले भने प्रधानन्यायाधीशको नेतृत्वमा सरकार नभई सल्लाहकार परिषद् बनाउने स्पष्ट पारेको छ । ‘हामीले संस्थालाई परिषद्को नेतृत्व गर्न दिने हो,’ बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दाबी गरे, ‘व्यक्तिलाई होइन ।’
बैठकपछि दाहालले पार्टी भित्र र बाहिर छलफल गरेर मंगलबार पुनः बसेर सहमतिका लागि प्रयास गर्ने जानकारी दिए । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि छलफल चलिरहेको र सहमतिको सम्भावना बलियो भएको बताए ।
सवैभन्दा पहिले बाहिरिएका कांग्रेस सभापति सुशील कोइराला रिसाएकाजस्ता देखिन्थे ।
गतिरोध चिर्ने सम्भावना बढ्यो
चार वर्षे संविधानसभा विघटनपछि सत्ता र विपक्षीमा ध्रुविकृत दलहरुबीच दुई दिनपछि छलफल तीब्र भएको छ ।
खासगरी एमाओवादीको महाधिवेशनपछि राष्ट्रपति रामवरण यादवको सकृयतामा दलहरु पुनः सहमतिका लागि एक ठाउँमा बसेका छन् । हेटौंडा महाधिवेशनबाट एमाओवादी अध्यक्ष दाहालले घोषणा गरेको ‘सहमतिको फर्मुला -प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार)’मा बहस तीब्र भएको छ । एमाओवादी प्रस्तावमा विपक्षी दलका दोस्रो तहका नेताहरुले असहमति राखे पनि दुवै दलका अध्यक्षले सार्वजनिक विरोध गरेका छैनन् ।
प्रधानमन्त्री पनि लचक
कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउन यसअघि भएको सहमतिको बाधक बनेका प्रधानमन्त्री बाबुराम भट्टराई पनि लचक देखिएका छन् ।
आफू नेतृत्वमै ‘दुई दिनका लागि भए पनि सहमतीय सरकार बनाउनुपर्ने’ अडानमा रहेका प्रधानमन्त्रीले लचकता प्रस्तुत गर्दै आएका छन् । एमाओवादीले अघि सारेको विकल्प सही भएको बताउँदै आए पनि उनी दलहरुबीच हुने सहमति मान्न तयार देखिएका छन् ।